राष्ट्रपतिद्वारा राखेप च्याम्पियनसिपको उद्घाटन

१० पुष २०७४, सोमबार ०४:४६

पुस १०, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलोपटक आफ्नै नाममा आयोजना गरेको राखेप च्याम्पियनसिप–२०७४ को राष्ट्रपति विद्यादेवी भण्डारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार विविधवत् उद्घाटन गरेका छिन ।

राष्ट्रपति भण्डारीले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्वधावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी उद्घाटन गरेकी थिइन्। टर्च हस्तान्तरणलगत्तै केसीले उद्घाटनस्थलमै रहेको ओलम्पिक दीपलाई सोही टर्चबाट प्रज्वलन गरेका थिए।  राष्ट्रपति भण्डारीले दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गरी गुणस्तरीय भौतिक पूर्वाधार विकासमा यथोचित ध्यान दिन जरुरी भएको बताउँदै भूकम्पले क्षति पुर्याएका पूर्वाधारको पनि पुनः संरचना गर्न अत्यावश्यक भएको बताए। राष्ट्रपति भण्डारीले बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न सरोकारवालाले कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै राष्ट्रिय गौरव बढाउने खेलाडीको संरक्षण गर्न पनि उत्तिनै आवश्यक भएको बताइन्।

च्याम्पियनसिपमा समावेश २९ खेलमध्ये ट्रायथलन, पौडी, कराँते र लनटेनिस सम्पन्न भइसकेका छन्। बाँकी २५ खेलमध्ये स्क्वास सोमबारदेखि सातदोबाटोमा शुरू हुँदै छ। सम्बन्धित राष्ट्रिय संघले सञ्चालन गर्ने प्रतियोगिता उपत्यकालगायत देशको विभिन्न भागमा हुनेछन्। बाँकी २५ खेलमा १२ खेल मोफसलमा हुनेछ भने अन्य काठमाडौं र ललितपुर केन्द्रित छ। ‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ नारा दिइएको च्याम्पियनसिपमा २ हजार २ सय ४९ पुरुष र १ हजार ७ सय ९१ महिला गरी जम्मा ४ हजार ८२ खेलाडी सहभागी छन्। ६ सय १५ स्वर्ण, उत्तिनै संख्यामा रजत र ८ सय ९७ कांस्य गरी जम्मा २ हजार १ सय २७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिप माघ ९ गतेसम्म चल्नेछ।–नेपाल समाचारपत्र