राष्ट्रपतिद्वारा अपांग दिवस एवं उधौली पर्वका अवसरमा बेग्लाबेग्लै शुभकामना सन्देश

१७ मंसिर २०७४, आईतवार ०२:५५

मंसिर १७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २६औं अन्तर्राष्ट्रिय अपांग दिवस एवं उधौली पर्वका अवसरमा बेग्लाबेग्लै शुभकामना सन्देश दिएकी छन् ।

नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धनका लागि क्रमिकरुपमा विभिन्न काम भइरहेको बताउँदै उनले अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा पनि अधिकारमुखी दृष्टिकोणबाट हेर्दै उनीहरुलाई विकासको मूल प्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउँदै लैजानु आजको आवश्यकता भएको उनले सन्देशमा उल्लेख गरेकी छन् ।    संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लिखित अधिकार कार्यान्वयनका लागि नीति तथा कानून निर्माण गरी अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विशेष पहल हुन जरुरी रहेको राष्ट्रपतिको सन्देशमा भनिएको छ । शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना, अपाङ्गमैत्री कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताका विषयलाई आत्मसात् गरी स्रोत, साधनलगायत आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छन् ।

 

त्यसैगरी, उधौली पर्वको उपलक्ष्यमा शुभकामना दिँदै उनले नेपालका विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वले नेपाललाई साझा फूलबारीका रुपमा श्रृङ्गार गर्दै आएका र उधौलीजस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेकी छन् ।