राज्यका निकायबाट मानवअधिकारको प्रत्याभूतिको आभास हुनेछ : राष्ट्रपति भण्डरी

२३ मंसिर २०७४, शनिबार ०३:५६

मंसिर २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा शुभकामना सन्देश दिँदै मानवअधिकारको सिलसिलामा सदैव नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका विषयमा समेत मनन गर्नुपर्नेमा जोड दिएकी छिन् ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालको संविधानले मानवअधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चिता गरेको र मानवाधिकारको कार्यान्वयनका लागि विभिन्न निकायको व्यवस्था भएकामा आफूलाई खुशी लागेको उल्लेख गरेकी छिन् ।
“ राज्यका निकायबाट हुने कार्यसम्पादनबाट मानवअधिकारको प्रत्याभूतिको आभास जनताले गर्नेछन् भन्ने मलाई लाग्छ”, सन्देशमा भनिएको छ । यस दिवसले मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न संलग्न हुने सबैलाई सफलता र प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरिन् ।