म्यानचेस्टर सिटीको लगातार १३ औं जितको कीर्तिमानीमा बराबर

१८ मंसिर २०७४, सोमबार ०२:४८

मंसिर १८, काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रेलिगेसन जोनमा रहेको वेष्ट ह्याम युनाइटेडलाई २ – १ ले पराजित गर्दै सिटीले आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

 

घरेलु मैदानमा भएको खेलमा सिटीले पहिलो हाफमा १ – ० ले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । सिटीको जितमा निकोलस ओटामेन्डी र डेभिड सिल्भाले समान एक एक गोल गरे । वेष्ट ह्यामका अन्जेलो ओग्बोन्नाले एक गोल गरे ।  इदिहाद स्टेडियममा सुरुवाती अग्रता भने वेष्ट ह्यामले लिएको थियो । पहिलो हाफको ४४ औं मिनेटमा ओग्बोन्नाले गोल गर्दै वेष्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा सिटीका ओटामेन्डीले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८३ औं मिनेटमा सिल्भाले गोल गरेपछि सिटीले २ – १ को महत्वपूर्ण जित निकाल्यो ।

यो जितसँगै सिटीले लगातार १३ औं खेलमा जित आत्मसात गर्यो । यस्तै सिटीले सबैभन्दा बढी खेल लगातार १३ औं खेल जित्ने किर्तिमानसँग समेत बराबरी गरेको छ । यसअघि सन् १८९१ – ९२ को सिजनमा सन्डरल्याण्ड र प्रिस्टन, सन् २००१–२ को सिजन आर्सनल र सन् २०१६ – १७ को सिजन चेल्सीले १३ औं खेल सम्म अपराजित रहेर किर्तिमान बनाएका थिए ।

यो जितसँगै सिटीले लिगमा आफ्नो अग्रता ८ अंकले बनाएको छ । शिर्ष स्थानको सिटीको १५ खेलबाट ४५ अंक रहेको छ । लिगको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३५ अंक छ । पराजित वेष्ट ह्याम १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । –एजेन्सी