माघको तेस्रो सातामा मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने

१५ पुष २०७४, शनिबार ०४:३०

पुस १५, काठमाडौं । कामचलाउ सरकारका एकजना वरिष्ठ मन्त्रीले आउँदो माघको दोस्रो वा तेस्रो हप्तातिर मात्रै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन सक्ने बताएका छन्।

 

राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश जारी भएपछि उक्त चुनाव सम्पन्न गरी प्रतिनिधि सभलाई पूर्णता दिन कम्तीमा एक महिना लाग्ने निर्वाचन आयोगको अनुमानले पनि उनको भनाइलाई बल पुगेको देखिन्छ।  तर सरकारको नेतृत्व गर्न अग्रसर देखिएको नेकपा एमालेले नयाँ सरकार गठनका लागि कुनै बहानाबाजी नगर्न चेतावनी दिएको छ। राष्ट्रपतिले शुक्रवार अध्यादेश जारी गरेपछि राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको छ।

प्रक्रिया
त्यसपछि प्रतिनिधि सभाको समानुपातिकतर्फको परिणाम घोषणा गर्ने बाटो खुल्ने सरकार र निर्वाचन आयोगको भनाइ छ। अध्यादेश चाँडै आएको भए सरकार गठन प्रक्रिया अझ चाँडै शुरु हुन्थ्यो। अब माघको दोस्रो वा तेस्रो हप्तातिर नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ। तर, ती प्रक्रिया पूरा गर्न समय लाग्ने उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बताए।उनले भने, ‘यो प्रक्रिया हामीले यथाशीघ्र अघि बढाउँछौँ। अध्यादेश चाँडै आएको भए सरकार गठन प्रक्रिया अझ चाँडै शुरु हुन्थ्यो। अब माघको दोस्रो वा तेस्रो हप्तातिर नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ।’  राष्ट्रिय सभा चुनावका मतदाता रहने प्रदेश सभा सदस्यको सपथ ग्रहणका निम्ति प्रदेश प्रमुख नियुक्ति लगायतका काम यसबीचमा हुनेछन्। त्यसपछि हुने राष्ट्रिय सभा चुनावपछि प्रतिनिधि सभामा समानुपातिक सांसदको सूची बुझाउन दलहरुलाई निर्वाचन आयोगले समय दिनेछ।   ती प्रक्रिया पूरा गर्न कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको बताउँदै शुक्रवार प्रधानमन्त्री र आयोग पदाधिकारीबीच भएको छलफलमा राष्ट्रिय सभाको निर्वाचनको मिति छिटो तोक्न आग्रह गरिएको प्रधानमन्त्रीसँगको भेटमा सहभागी एकजना आयुक्त ईश्वरी पौडेलले बताए।

कार्यतालिका

उनले भने, ‘प्रदेश प्रमुखको नियुक्ति छिटो भइदिएर राष्ट्रिय सभाका लागि निर्वाचकमण्डल तयार हुनुपर्‍यो। त्यसपछि रातदिन बसेर भएपनि निर्वाचनका लागि चाहिने न्यूनतम कार्यातालिकामा सम्झौता नगरी जतिसक्दो चाँडो निर्वाचन सम्पन्न गराउन हामी तयार छौँ भनेर हामीले प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ।’  तर एमालेले आयोगले तत्काल प्रतिनिधि सभाको मतपरिणाम सार्वजनिक गर्नुपर्ने बताएको छ।  चुनावबाट स्पष्ट जनादेश वामपन्थी गठबन्धनले पाए पनि सरकारले विभिन्न बहानामा आयु लम्ब्याउन खोजेको एमाले सचिव प्रदीप ज्ञवालीको आरोप छ।   उनले भने, ‘यत्रो लज्जास्पद हार हुँदा पनि उहाँहरु बाटो खोल्न तयार हुनुहुन्न। विभिन्न बहाना बनाउनुहुन्छ, अरु एक÷डेढ महिनाको कुरा गर्नुहुन्छ भने उहाँहरुको नियतमा खोट छ भन्ने बाहेक अरु केही पनि देखिँदैन।’  राष्ट्रपतिले सोमवारबाटै नयाँ सरकार गठनका लागि पहल गर्न सक्ने अवस्था बनेको नेता ज्ञवालीको भनाइ छ।  कांग्रेस र एमालेको परस्परविरोधी अडानले अध्यादेश जारी भएसँगै गतिरोध अन्त्य हुनेु कतिपयको अपेक्षा चुनौतीमुक्त नभएको देखाउँछ।