माओवादी केन्द्रसहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल

१२ पुष २०७४, बुधबार ०९:२०

पुष १२, काठमाण्डौं ।
एमालेले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।

एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो । एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएकाले सहकार्यमा आउन चाहेको अवस्थामा वाम गठबन्धनका प्रमुख नेताहरुको सल्लाहमा राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पस्ट गरे ।

प्रदेश नम्बर–२ मा मधेसकेन्द्रित दलले जितेको अवस्थामा उनीहरुप्रति आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको उनले बताए । यस विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको छ ।

पार्टी एकतामा प्राथमिकता नदिइ अन्य दलसँग एमालेले छलफल गर्दा माओवादी केन्द्रसँगको गठबन्धन टुट्ने त होइन ? भन्ने राससको प्रश्नमा नेता पोखरेलले भने–‘निर्वाचन आयोगले अन्तिम परिणाम दिएपछि सरकार निर्माणको औपचारिक प्रक्रिया सुरु हुन्छ । यस स्थितिमा एक–अर्कामा अविश्वास पैदा गराउने काम भएको छ । हामी जनताबाट प्राप्त जनादेशअनुसार पार्टी एकता र सरकार निर्माणमा अघि बढ्नेछौं ।’

उनले पार्टी एकता र सरकार निर्माणबारे कुनै गम्भीर समस्या नरहेको दाबी गर्दै निर्वाचनको तालमेलदेखि नै एमाले र माओवादी केन्द्रको एकताको प्रक्रिया सुरु भएको र निर्वाचनका समयमा कार्यकर्ताबीच थप उत्साह देखिएको बताए ।

वाम गठबन्धनमा कुनै असहजता उत्पन्न नभएको र उत्पन्न भएमा पनि दुई अध्यक्ष आपसमा बसेर सजिलै हल गर्नसक्ने स्थितिमा आफूहरु रहेको दाबी गरे ।

‘एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया जारी छ, यसले संस्थागतरुपमा पूर्णता पाउन नीति, विधान र नेतृत्व निर्माणका प्रक्रिया पार गर्दा केही समय लाग्नसक्छ’–उनले भने–‘एकता नभएमा गठबन्धनका नेताबीच आलोपालोका आधारमा प्रधानमन्त्री वा अन्य जिम्मेवारी चयन हुनसक्छ, एकतापछि आलोपालो नभइ नेताहरुको जिम्मेवारीको कार्यविभाजन तोक्ने काम हुन्छ ।’

दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँट र सैद्धान्तिक आधारका विषयमा सहमति खोज्न गृहकार्य जारी छ । उनले पार्टी एकताका लागि दुई पार्टीबीचका कार्यदलबाट आउने सुझावबमोजिम साझा सैद्धान्तिक विचार र कार्यक्रम तय हुने जनाए । दुई पार्टीबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेलको घोषणा भएको थियो भन्दै राससले समाचार लेखेको छ ।