भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या

२५ मंसिर २०७४, सोमबार ०२:१६

मंसिर २४, नयाँदिल्ली । भारतको अर्धसैन्य बलका एकजना सिपाहीले आफ्नै पल्टनका चारजना सहकर्मीको हत्या गरेका छन् ।


उक्त सैन्य बलको केन्द्रीय शिवीरभित्र रहेका सदस्यहरुमध्ये अन्य केही घाइते पनि भएको एक सरकारी अधिकारीले आइतबार जानकारी दिएका छन् ।  शनिबार बेलुका स्थानीय समयअनुसार पाँच बजेतिर छत्तिसगढ राज्यको बिजपुर जिल्लामा सो घटना भएको हो । आक्रमणकारी सिपाहीले सँगै रहेका आफ्ना सहकर्मीहरुलाई बन्दुक प्रहार गरेका थिए ।  ‘उसले आफ्ना चारजना सहकर्मीलाई बन्दुक प्रहार गरेका थिए, त्यसपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो, अर्का एकजना सहायक निरीक्षक घाइते भएका छन्,’ नाम नबताउने सर्तमा बिजपुरका एक अधिकारीले भने ।

 

छत्तिसगढ राज्यका बरिष्ठ प्रहरी अधिकृत सुन्दरराज पीले स्थानीय सन्चारमाध्यमहरुलाई शनिबार अबेर दिएको जानकारीअनुसार घटना के कसरी र किन भयो भन्ने बारेमा अहिले केही स्पष्ट भइसकेको छैन भने प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनले किन यसरी गोली प्रहार गरेका हुन् अथवा उनीहरुबीच कुनै झगडाको कारण के थियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।  उनले दिएको जानकारीअनुसार सो सैन्य बलमा बन्दुक प्रहार गरी हत्यागर्ने ३५ वर्षीय सनाथ कुमारलाई पक्राउ गरिएको र सोधपुछ सुरु गरिएको पनि जानकारी दिएका छन् ।  छत्तिसगढका मुख्यमन्त्रीले ट्वीटरमार्फत् घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्ने बताएका छन् । छत्तिसगढ राज्य माओवादी प्रभावित क्षेत्र मानिन्छ ।  (रासस÷एएफपी)