प्रदेश नम्बर–५ को राजधानी दाङमा हुनुपर्ने माग, अन्यथा आन्दोलन मार्फत केन्द्र घेर्ने चेतावनी

३ पुष २०७४, सोमबार ०७:१३

पुष, ३ दाङ ।
प्रदेश नम्बर–५ को राजधानी बुटवलमा बनाउन लबिङ थालेको भन्दै दाङवासीले दाङमा नै हुनुपर्ने माग गर्दै आइतबार विरोध प्रदर्शन गरेका छन् ।

बुटवल क्षेत्रका जनताले त्यहाँ राजधानी बनाउन लबिङ थालेको भन्दै दाङमा त्यसको विरोधमा प्रदर्शन भएको हो । तुलसीपुरमा आइतबार जनदबाब भन्दै ¥याली निकाली कोणसभासमेत भएको छ । कोणसभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुरमै रहेको, प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरमै रहेको, रेडियो नेपालको प्रदेशस्तरीय रिले स्टेशन तुलसीपुरमै रहेको, पहिलो बैठकका लागि भवनसमेत तयार भएको अवस्थामा यसविपरीत बुटवल राजधानी बनाइने हल्ला चलाएकाले त्यसको पछाडि नलाग्नसमेत स्थानीयवासीलाई सचेत गराइएको छ ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज, दाङका संयोजक टीकाराम रेग्मीले दाङ राजधानी भएन भने त्यो घोषणा भएको १० मिनेटमै नागरिकले आन्दोलन छेड्ने र केन्द्रमा घेर्नेसम्म बताए । त्यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले दाङ राजधानी बनाउन आफूहरू जस्तोसुकै कदम चाल्नसमेत तयार भएको बताएको राससले समाचार लेखेको छ । महिला अधिकारकर्मी सुष्मा गिरीले दाङ प्रदेश नम्बर–५ को केन्द्रमा रहेको, सबैभन्दा ठूलो भूगोल भएको हुँदा वैदेशिक सीमा क्षेत्रमा राजधानी राख्नु उपयुक्त नहुने तर्क गरिन् । ‘दाङ राजधानी भएन भने जस्तोसुकै मूल्य चुकाउन दाङ पछि पर्नेछैन,’ उनले भनिन् । त्यस्तै, सहभागीहरुले सबै क्षेत्रको केन्द्र र सबै किसिमले उपयुक्त जिल्ला दाङ रहेको तर्क गरेको राससले जनाएको छ ।