प्रतिनिधिसभामा पराजित हुँदा पनि राष्ट्रियसभामा आउन सक्ने

२३ मंसिर २०७४, शनिबार ०४:३६

मंसिर २३, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि केही ठूला नेता सांसद बन्ने सम्भावना भने कायमै छ । संविधानले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा पराजित उम्मेद्वार पनि राष्ट्रिय सभा सदस्य हुन सक्ने प्रावधान राखेका कारण उनीहरुलाई राष्ट्रियसभाका सदस्य बन्न बाटो खुला रहेको हो ।

संविधानविद् निलाम्बर आचार्यले प्रतिनिधिसभामा पराजित कुनै पनि उम्मेद्वार राष्ट्रियसभामा आउन सक्ने कानुनी प्रावधान रहेको बताए । उनले भने,‘पार्टीको पकड रहेको निर्वाचन क्षेत्रमा आफू निकट व्यक्तिलाई राजीनामा गर्न लगाएर सोही क्षेत्रमा चुनाव लडेर फेरि प्रतिनिधिसभामा आउने वा राष्ट्रिय सभामा निर्वाचित हुन पनि सकिन्छ ।’  संविधानअनुसार राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । तीमध्ये एक प्रदेशबाट आठ सदस्यका दरले सातवटा प्रदेशबाट कुन निर्वाचित हुने ५६ सदस्य र बाँकी सरकारको सिफारिसमा राष्ट्रपतिले तीनजना राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने संवैधानिक प्रावधान छ । प्रदेशसभाका सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचनणमण्डलले राष्ट्रिय सभाका आठ सदस्य निर्वाचित गर्ने व्यवस्था छ ।

 

संविधानविद् आचार्यले प्रदेशबाट निर्वाचित हुने आठजना राष्ट्रिय सभा सदस्यका लागि प्रतिनिधिसभामा पराजित व्यक्ति पनि उम्मेद्वार हुन सक्ने बताए । प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनाव एकै पटक हुँदैन । त्यसैले प्रतिनिधिसभामा पराजित व्यक्ति पनि उम्मेद्वार हुन सक्छ, ’ उनले भने । राष्ट्रियसभाको सदस्य हुन उम्मेद्वार नै नभएर सोझै सरकारको सिफारिसबाट मनोनित हुनसक्ने पनि संविधानमा व्यवस्था छ । तर, सरकारले तीन जनालाई मात्र राष्ट्रियसभामा मनोनित गर्न पाउँछ ।

संविधानअनुसार हरेक प्रदेशबाट निर्वाचित हुने आठ जना राष्ट्रिय सभा सदस्यका लागि सो प्रदेशमा बस्ने नेपाली नागरिक राष्ट्रियसभाका सदस्य को उम्मेद्वार हुन पाउँछन् तर भोट भने प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख उपप्रमुख तथा नगरपालिकाका प्रमुखले मात्र दिन पाउने संविधानमा व्यवस्था छ । –नागरिक दैनिक