निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई प्रहरीले छोप्ने तर होहल्ला नगर्ने

१५ मंसिर २०७४, शुक्रबार ०४:३९

मंसिर १५, अछाम । निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई प्रहरीले छोप्ने तर होहल्ला नगर्ने नीति लिएको छ । पार्टीका कार्यकर्ता पक्राउ परेपछि राजनीतिक दवाव थपिने र अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले यस्तो उपाय अपनाएको हो । चुनावको मुखमा देशभर यसरी पक्राउ पर्ने बढेका छन् ।

प्रहरीले अछाम प्रहिले १२ जनालाई पक्राउ गरेर यही बिधि अनुसार अनुसन्धान गरिरहेको छ ।  आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।पक्राउ गरिएका केही व्यक्ति विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको र अन्यको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

अनुसन्धानमा अवरोध उत्पन्न हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरिएका व्यक्तिका बारेमा कुनै पनि आधिकारिक जानकारी भने दिएको छैन । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “ बाह्र जनालाई हामीले पक्राउ गरी अनुसन्धान थालेका छौँ, अनुसन्धानपछि सबै जानकारी गराइने छ ।”