निर्वाचनले विकास र समृद्धिको आकांक्षा जगायो : अध्यक्ष ओली

२९ मंसिर २०७४, शुक्रबार ०२:२३

मंसिर २९, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनले जनतामा नयाँ नयाँ आकाक्षा जन्माउने बताएका छन् । यसपालिको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकाले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुको ज्ञापनपत्र आफ्नै निवास बालकोटमा बिहिबार बुझ्दै ओलीले २०४६ सालको परिवर्तनपछि देशमा निजिकरणका नाममा भ्रष्ट्रीकरण बढेको बताए । ‘निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योग काँग्रेसको पालामा बेचिए,’ उनले भने, ‘जसले गर्दा स्वदेशमा भएको रोजगारीसमेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन् ।’

ओलीले आगामी सरकारले युवालाई स्वदेशमै राम्रो पारिश्रमिकसहितको रोजगारीको व्यवस्थामा ध्यान दिने बताए । सम्पत्ति शुद्धीकरणका नाममा व्यवसायीलाई आफ्नो पुँजी सहज ढंगले परिचालन गर्न राज्यले रोक लगाएको पनि उनले बताए । ‘आफ्नै खाताबाट १० लाख रुपैयाँभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण कसरी बन्छ?’ ओलीको प्रश्न थियो, ‘सरकारको काम लगानीमैत्री वातावरण बनाएर व्यवसायीसँग कर उठाउने हो, तर अनावश्यक बखेडा झिकेर गैरकानुनी रकम आर्जन गर्ने होइन ।’
अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताए । महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र भाष्कर राजकर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागि प्रमुख विपक्ष दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशांस गरिएको छ ।

ज्ञापनपत्रमा वाम गठबन्धनको दुई तिहाई आसपासको बहुमतले देश अब स्तिरताको यात्रामा अघि बढेको महसुस भएको उल्लेख छ ।–नेपाल समाचारपत्र