तामाकोसी पाँचौंको डिपीआर ७ महिनामा

१६ पुष २०७४, आईतवार ०४:२८

पुस १६, दोलखा । तामाकोसी पाँचौं जलविद्युत् आयोजनाको आगामी ७ महिनाभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार हुने भएको छ । आयोजनाको डीपीआर तयारीका लागि परामर्शदाता जर्मनी कम्पनी ल्याह्मेरले अध्ययन जारी राखेको छ ।

तामाकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधानका अनुसार परामर्शदाता ल्याह्मेरले केही समयमै आयोजनास्थल विगू गाउँपालिका ४ सुरीटारमा परीक्षण सुरुङ निर्माण गर्नेछ । १ सय ७० मिटर लामो हुने परिक्षण सुरुङको चट्टानको परीक्षणका खन्न लागेको बताए ।  परामर्शदाता कम्पनीले सुरुङ निर्माणका लागि चाहिने विस्फोटक पदार्थ ल्याउन जिल्ला सुरक्षा समिति र नेपाली सेनासँग अनुमति लिने काम गरिरहेको छ । डीपिआर तयारपछि आयोजनाको लागत र क्षमताबारे पूर्ण विवरण आउने उनले बताए । आयोजनजाका लागि आवश्यक जग्गाका लागि सार्वजनिक सूचना प्रकाशित जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण समेत भइसकेको छ । २ महिनाअघि दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाको अध्यक्षतामा बसेको बैठकले न्यनतम ३ लाख ७४ हजारदेखि अधिकतम ७ लाख ४८ हजार प्रतिरोपनी मूल्य निर्धारण गरेको हो ।

आयोजनाका लागि विगू गाउँपालिका वडा नं. ४ साविक लादुक–९ को सुरोटारमा रहेको जग्गा अधिग्रहण गर्नेछ । जग्गाको मूल्य निर्धारण समितिले  सिंगटी–भोर्ले–तामाकोसी सडकले छोएको सडकको २५ मिटर पछाडिसम्मको मूल्य प्रतिरोपनी ७ लाख ४८ हजार निर्धारण गरेको छ । त्यस्तै, सडकले नछोएको बाँकी जग्गाको मूल्य ३ लाख ७४ हजार निर्धारण भएको आयोजनाका प्रशासन प्रमुख सीताराम थापाले बताए ।

आयोजनाका लागि ५८ जनाको ५५ रोपनी जग्गा आवश्यक पर्छ । तामाकोसी पाँचौंको सुरीटारमाअ विद्युत गृह लगायतका संरचना तयार गर्ने प्रस्ताव छ । आयोजनाको विद्युत गृह भूमिगत हुनेछ । ल्याह्मेर ४ सय ५६ मेगावाटको निर्माणधीन माथिले तामाकोसी जलविद्युत आयोजनाको समेत परामर्शदाता हो । डेढ वर्षमा पूरा गर्ने गरी एक वर्ष अघि ल्याह्मेर र विद्युत प्राधिकरणबीच सम्झौता भएको थियो ।  आयोजनाको प्रारम्भिक अध्ययनअनुसार ८७ मेगावाट क्षमताको बन्ने भएपनि अहिले परामर्शदाताको अध्ययनमा ९५ मेगावाटको बनाउन सकिने अनुमान छ । तामाकोसी जलविद्युत आयोजनाको क्यासकेट आयोजना हो । प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनअनुसार माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई पुनः गरी ८ दशमलव २ किलोमिटर सुरुङबाट लादुकको सूरीटारमा भूमिगत विद्युत गृह बनाएर विद्युत उतपादन गर्ने लक्ष्य छ । –कारोवार दैनिक