तातोपानी नाका सुचारु गर्न चीन सकारात्मक

११ पुष २०७४, मंगलवार ०१:५९

पुस ११, काठमाडौं । नेपाल–चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनका लागि सीमा क्षेत्रमा संयुक्त आदेश संयन्त्र (ज्वाइन्ट कमान्ड मेकानिजम) कार्यालय स्थापना गर्न नेपाल पक्ष तयार भए नाका सञ्चालन गर्न सकिने चिनियाँ पक्षले संकेत गरेको छ ।

 

नेपाल र चीन बीचका सुरक्षा अधिकारीहरू बीच खासामा सम्पन्न सीमा सुरक्षा बैठकमा चिनियाँ अधिकारीहरूले नाकामा यस्तो कार्यालय स्थापना भए नाका सञ्चालन गर्न सकिने संकेत गरेको हो ।

नेपाल–चीन बीच सीमा जोडिएका आठ नाका मध्ये सुरक्षाको दृष्टिकोणले तातोपानी नाका बढी संवेदनशील रहेकाले संयुक्त कमान्ड स्थापना गर्न चिनियाँ अधिकारीहरूले नेपाली पक्षसँग आग्रह गरेको बैठकमा सहभागी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । तातोपानी नाका सञ्चालन भए पनि यो नाकाबाट चीन विरोधी गतिविधि जारी रहेकाले चिनियाँ अधिकारीहरूले नाकामा संयुक्त आदेश संयन्त्र र यसको कार्यालय स्थापनामा नेपालको धारणा समेत मागेको छ ।

–राजधानी दैनिक