इमिरेट्स एयरलाइन्सको विमान ट्युनिसियामा अवतरण गर्न प्रतिबन्ध

१० पुष २०७४, सोमबार ०३:२२

पुस १०, काठमाडौं । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ ।

आफ्नो देशका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसमा अवतरण गर्न नदिएको हो ।   ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दै अधिकारवादी संस्थाले विरोध गर्दै आएका थिए ।   यो घटनाले ट्युनिसियाभर असन्तुष्टि बढेपछि इमिरेट्स एयरलाइन्सको विमानलाई अवतरण गर्न नदिइएको बताइएको छ ।   कानुनको पालना तथा अन्तर्राष्ट्रिय सम्झौता अनुसार उडान भर्न तयार नभएसम्म इमिरेट्स एयरलाइन्समाथिको प्रतिबन्ध कायम रहने ट्युनिसियाको यातायात मन्त्रालयले जनाएको छ ।

 

तर युएईले भने सुरक्षाका कारण ट्युनिसियाको उडान रोकिएको दाबी गरेको छ ।  दुबई एयरपोर्टमा ट्युनिसियन महिलालाई इमरेट्स एयरलाइन्सले गएको केही दिनदेखि चढ्न रोक लगाउने गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सुरक्षाका कारण यस्तो केही समस्या भएको तर ट्युनिसियन महिलालाई आफ्नो देशले पूर्ण सम्मान गर्ने युएईले बताएको छ ।(एजेन्सी)