इपीएल क्रिकेटको आजबाट टियु क्रिकेट मैदानमा सुरु हुँदै

३ पुष २०७४, सोमबार ०५:२१

पुस ३, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट आजबाट राजधानीमा सुरु हुँदैछ । इपिएलको उद्घाटन खेलमा आज ललितपुर प्याट्रिएट्सले काठमाडौं किंग्स इलाभेनसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने ललितपुर प्याट्रिएट्स र काठमाडौं किंग्सबीचको खेल ११ बजेपछि सुरु हुनेछ । दुई फ्रेन्चचाइज क्लब पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।  ललितपुर प्याट्रिएट्सका कप्तान ज्ञानेन्द्र मल्लले तयारी राम्रो भएको भन्दै प्रतियोगितामा नतिजा पनि राम्रो ल्याउने बताए ।  आइतबार भएको प्रि म्याच कन्फरेन्समा कप्तान मल्लले भने, “तयारी राम्रै छ । राष्ट्रिय टिम युएईविरुद्धको खेलका लागि निकै व्यस्त भएकोले लामो समय अभ्यास गर्न पाएनौं । तर, चार–पाँच दिनको समयमा राम्रो तयारी गरेका छौं । हाम्रो सबल पक्ष नै टिम सन्तुलित हो । राम्रो छ काठमाडौं किंग्स तर हामी जितको लागि खेल्नेछौं । प्रतियोगिताको सुरुवात जितसँगै गर्न चाहन्छौं तर सजिलो भने छैन ।”

 

काठमाडौं किंग्स इलाभेनका कप्तान परवेज महारुफले आफ्नो टिम च्याम्पियन बन्ने दाबी गरे । कप्तान महारुफले भने, “नेपाल पहिलो पटक आएको हुँ, काठमाडौं किंग्स इलाभेनले कप्तानको भूमिका मलाई दिएको छ । टिम निकै बलियो छ । युवा जोस टिममा छ । प्रतियोगिताको उपाधि जित्ने हाम्रो लक्ष्य हो । पहिलो खेलमा नै ललितपुरलाई पराजित गर्दै सुखद सुरुवात गर्नेछौं ।”  इपीएल लिगमा ६ वटा क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगमा काठमाडौं किंग्स इलाभेन, ललितपुर पेट्रिएट्स, चितवन टाइगर, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।  इपीएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । इपीएलको विजेताले २१ लाख पुरस्कार प्राप्त गर्नेछ ।