आर्थिक विकासको नयाँ युग सुरु हुने परिसंघको विश्वास

२४ मंसिर २०७४, आईतवार ०५:१५

मंसिर २४, काठमाडौं नेपाल उद्योग परिसंघले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले मुलुकमा आर्थिक विकासको नयाँ युग सुरु हुने विश्वास गरेको छ । संविधान कार्यान्वयनका लागि भएको निर्वाचनले मुलुकमा दुई दशकदेखिको राजनैतिक संक्रमणकालको अन्त्य भएको परिसंघको ठहर छ ।

यसै वर्ष भएका तीन निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकालको अन्त्य भइ नेपालमा स्थायी सरकारको निर्माण हुने परिसंघको भनाइ छ । “नेपालका राजनीतिक दलहरूबीच हुने सहमति तथा सहकार्यबाट देशमा अत्यावश्यक रहेको आर्थिक र औद्योगिक विकास छिटो हासिल गर्न सम्भव हुने भएकोले भविष्यमा समेत दलहरूले सहकार्य गरि नेपालको संक्रमणकालको अन्त्य संगै राजनीतिक स्थिरता समेत आउने अपेक्षा छ,” परिसंघको विज्ञप्तिमा भनिएको छ, “यस निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य र नेपालको आर्थिक विकासमा नयाँ सम्भावनाका धेरै बाटाहरू खोल्दै आर्थिक विकासको नयां युग सुरुगर्ने परिसंघको विश्वास छ । नेपालको आर्थिक संवृद्धि तथा विकासका लागि सवै राजनीतिक दलहरूले आर्थिक मुद्दामा साझा धारणा बनाउनु जरुरी छ भने अब बन्ने सरकारहरूले लगानी प्रवद्र्धन गर्न व्यापक नीतिगत सुधार गर्नु पर्ने छ ।”
राजनीतिक दलहरूले गर्दै आएको आर्थिक सम्ृद्धिका बाचा पूरा गर्ने समय आएको परिसंघको भनाइ छ । सम्पूर्ण राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमा आर्थिक तथा विकासका मुद्दालाई महत्व दिएको र त्यसमा सबै अडिग भइ त्यसैअनुरूप नै विकासको नयां आयाम ल्याउन सबै राजनीतिक दलहरूले आफ्ना गतिविधिहरू अघि बढाउनेमा परिसंघ विश्वस्त रहेको जनाइएको छ ।