अर्घाखाँचीमा हराउदै खरका छाना, गुम्दै परम्परागत पेशा

२९ मंसिर २०७४, शुक्रबार ०७:२४

तेजेन्द्र के.सी

मंसिर २९ , बुटवल ।

बस्नलाई न्यानो, हुरीबतास चल्दा हावा घरभित्र नर्छिने खरले छाएका घरहरु आजभोली अर्घाखाँची जिल्लामा दिनप्रतिदिन लोप हुदैँ गएका छन ।


वर्खामासको समय सकिएपछी नयाँ खर काटेर घर छाउँने परम्परा थियो, अर्घाखाँची जिल्लाका गाउँगाउँमा । आजभोली बढ्दो सम्पन्नताले गाउँमै पक्की घर तथा मध्यम खालका परीवारले जस्तापाता छाउन थालेपछि थाले पछी खरका घर विस्तारै हराउँदै गएका छन । अधिंकाश ब्राहृमण, क्षेत्री लगाएतका घरमा खरको छानो हाल्ने चल्न हराउदै गएपनि दलित समुदायको घरमा भने अहिल्य पनि छिटफुट मात्रामा खरका घरहरु देख्न सकिन्छ ।  बढ्दो आधुनिकीकरणसँगै खरको अभाव नभएपनी एकपटक जस्तापाताले छाएपछि वर्षौबर्ष टिक्ने कारण पनि मानिसहरुमा खरको छानो प्रतिको आकर्षण घट्दै गएको स्थानीयहरु सुनाउछन् ।

दिनभरी घर छाएर साँझ विहान धान्दै आएकाहरुको पेसा पछिल्लो समय संकटमा समेत पर्न थालेको पाणिनी ५ मैदानका टोपलाल भट्टराईको गुनासो  ‘गाउँ–सहरमा मान्छेले खरले छाएका घर नै बनाउन छाडिसके’, भट्टराईले भने, ‘अनि कसले काम गर्न बोलाउने ?’ गाउँमा पहिले विद्यालयमा मात्र देखिने ढलानको छानाहरु संगै जस्ताको प्रयोग बढ्नथालेसंगै निर्माण सामग्रीको मुल्य पनि आकसिएको अनुभव स्थानीयको छ ।  त्यसो त निर्माण मजदुरको ज्यालामा समेत बृद्धि भएको छ । तर, बूढापाका भने खरले छाएका घरमा बस्न पाउँदाको जस्तो आनन्द जस्तापाता र पक्की घरमा नहुने बताउँछन् । पक्की र जस्ताले छाएका घरमा जाडोमा निकै चिसो र गर्मीमा निकै गर्मी हुन्छ, तर खरले छाएकोमा बस्दाको आनन्द नै फरक हुन्छ, बुढापाकाहरु बताँउछन् ।

जिल्लाको छत्रदेव गाँउपालिकाले त खरको छाना भएका घर हटाई जस्तापाता लगाउँने भएको छ । जसका लागि गाँउ कार्य पालिकाको सभाले एक करोड २० लाख रुपैया विनियोजन समेत गरेको छ । छत्रदेव गाँउपालिकाको कार्यपालिका तथा जनप्रतिनिधिको बैठकले गाँउपालिका भित्र रहेका ३ सय ३४ खरको छानो भएका दुखी तथा गरिव परिवारमा जस्तापाता लगाउने निर्णय गरेको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताएका छन । जसकालागि एक करोड २० लाख रुपैया विनियोजन भएको उनले जानकारी दिए । स्थानिय तहले नै खरको छानो हटाएर टिन लगाउँन सुरु गरेपछी जिल्लाभरका सवै स्थानिय तहमा खरको छानो हट्ने अनुमान जिल्लाबासीको छ, टिनको छानो लगाएपछी पट्कपट्क घर छाईरहनु नपर्ने कारण पनि आफूहरुले अभियान चालको गाँउपालीका बताँउछ ।