सात दिनभित्र नाम पठाउन पत्राचार

१० पुष २०७४, सोमबार ०१:५२

पुस १०, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक तर्फ पाएको सिटअनुसार उम्मेद्वारको नामावली सिफारिस गर्न राजनीतिक दलहरुलाई पत्राचार गरेको छ ।

आयोगका सचिव योगेन्द्र राज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहेका समानुपातिक निर्वाचन एकाईले पत्र पठाएको हो । आयोगले शुक्रवार प्रदेशसभाको समानुपातिक तर्फ पाएको मतलाई सिटमा परिणत गरी सार्वजनिक गरेको थियो । सोहीअनुरुप उम्मेद्वारहरुले यसअघि आयोगमा बुझाएको बन्दसूचीअनुरुप उम्मेद्वार नामावली सिफारिस गर्ने व्योहोरासहित पत्र दलहरुलाई पठाइएको हो ।

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ बमोजिम राजनीतिक दलहरुले ७ दिनभित्र उम्मेद्वार नामवली पेस गर्नुपर्नेछ । दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सिट संख्याको आधारमा महिला तथा समावेशी समूह एवं अल्पसंख्यक समुदाय तथा पीछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यसमेत आयोगले निर्धारण गरेको छ ।

महिला संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट सम्बन्धित प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्ने निर्वाचन अधिकृत पौडेयालले जानकारी दिए ।
दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णयबाट निर्वाचित हुने उम्मेद्वारको छनोट गरी त्यसरी छनोट भएका उम्मेद्वारको सूची आयोगले तोकेको समयभित्र पेश गर्नुपर्ने छ । – नेपाल समाचारपत्र