साउदीले पुननिर्माणमा ३ अर्ब सहयोग गर्ने

२९ मंसिर २०७४, शुक्रबार ०४:३२

मंसिर २९, काठमाडौं । नेपालको भूकम्पपछिको पुर्ननिर्माणमा साउदी अरेबियाले सहयोग गर्ने भएको छ । साउदी सरकारको विकासका लागि साउदी कोषका प्रतिनिधि र पुननिर्माण प्राधिकरणका अधिकारीबीच मंगलबार र बिहिबार प्राधिकरणमा भएको छलफलमा सो समझदारी भएको हो ।

छलफलका क्रममा विकासका लागि साउदी कोषका उच्च अधिकारीहरुले प्राधिकरणबाट पुननिर्माण गर्नुपर्ने आयोजनाको यथासक्य सूचीसहितको परियोजना प्रस्ताव गर्न आग्रह गरेका छन् । साउदी सरकारले विकासका लागि साउदी कोषमार्फत ३० मिलियन अमेरिकी डलर (करिव ३ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियत ऋण सहयोग गर्न रुचि देखाएको हो । प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसालले उक्त रकम निजी आवासको पुर्ननिर्माण, विद्यालय तथा स्वास्थ्य संसथाहरुका पुर्ननिर्माणमा खर्च गर्ने प्रस्तावसहित प्रधिकरणले ऋण सम्झौता वार्ताक लागि अर्थ मन्त्रालयलाई अनुरोध थरी पठाइसकेको जानकारी दिए ।

प्राधिकरणमा भउको छलफलमा प्राधिकरणबाट सहसचिवद्वय यमलाल भुसाल र कृष्णप्रसाद दवाडी तथा उपसचिवद्वय डा. भीष्मकुमार भुसाल र बिनु बज्राचर्य कुँवरको सहभागीता थियो । साउदी सरकारका तर्फबाट विकासका लागि साउदी कोषका क्षेत्रीय व्यवस्थापक अब्दुल्लाह एम. अल–सोएइबी, आयोजना व्यवस्थापक नासिर एल कसाबी र वरिष्ठ विज्ञ सइद अल मासाइखी सहभागी थिए । –राजधानी दैनिक