समानुपातिकतर्फको मतगणना सकिएलगत्तै पाँच पार्टीले पाए राष्ट्रिय दलको मान्यता

पुस १, काठमाडौं । गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ ।

दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो ।  निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ ।  दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख ६० हजार ८ सय ५० मत प्राप्त गर्दा माओवादी केन्द्रले १२ लाख ७३ हजार ७ सय ७१ मत पाएको छ ।  यस्तै संघीय समाजवादी फोरमले ४ लाख ५९ हजार ७१, राजपाले ४ लाख ४७ हजार ५ सय २९, विवेकशील साझा पार्टीले २ लाख ११ हजार ४ सय ९३, राप्रपाले १ लाख ९३ हजार ८ सय ७२, राप्रपा प्रजातान्त्रिकले ८७ हजार ४ सय ८१, नयाँ शक्ति पार्टीले ८० हजार ६ सय ९३ र राष्ट्रिय जनमोर्चाले ६२ हजार ४५ मत पाएका छन् ।

 

अरु दलले ३ लाख ४७ हजार ६ सय ८५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । योसँगै पाँच वटा पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् ।  संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत ल्याउने पार्टीलाई राष्ट्रिय दलका मान्यता दिने व्यवस्था छ ।  सो अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको मान्यता पाएका हुन् ।  अरु दलले ३ प्रतिशत मत कटाउन नसके पछि उनीहरुले राष्ट्रिय दलको मान्यता पाउन सकेनन् ।


प्रकाशित | २०७४ पुष १ प्रकाशित ०१:३८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ