सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री देउवा आतुर

२९ मंसिर २०७४, शुक्रबार ०१:३९

मंसिर २९, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

 

राष्ट्रपतिलाई भेट्न विहिबार शीतलनिवासमा पुगेका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् । राष्ट्रियसभा गठन नभएसम्म निर्वाचनको पूर्णता नपाउने संवैधानिक व्यवस्था रहेको राष्ट्रपतिसँग देउवाले गरेका छन् । ‘राष्ट्रियसभा गठन नभएसम्म निर्वाचित प्रक्रियाले पूर्णता पाउँदैन,’ प्रधानमन्त्रीलाई उदृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘राष्ट्रिय सभा गठन नभईकन सत्ता हस्तान्तरण कठिन भयो, अध्यादेश स्वीकृत गरेर बाटो खोलिदिनुस् । छिटो सत्ता हस्तान्तरणका लागि म आतुर छु ।’

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश दलीय सहमति नजुट्दा स्वीकृत गर्न कठिन भएको जानकारी प्रधानमन्त्रीलाई गराउँदै छिटो निष्कर्षमा पुग्ने आश्वासन दिएकी छिन । राष्ट्रपतिका एक सहयोगीले भने, ‘आन्तरिक छलफल जारी छ, छिटै टुंगोमा पुग्छौं ।’ राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश स्वीकृत गर्दा वा नगर्दा सरकार गठनदेखि अन्य प्रक्रिया अघि बढाउन आइपर्ने बाधाका विषयमा विभिन्न पक्षसँग छलफल जारी राखेकी छिन् । राष्ट्र प्रमुख र सरकार प्रमुख बीच भएके नियमित भेटबारे जानकारी दिँदै राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जीवछ शाहले राष्ट्रयसभा गठनसम्बन्धी अध्यादेश, नयाँ सरकार गठनसहितका समसामयिक विषयमा छलफल भएको बताए ।
संविधानको धारा ८४(८) र धारा ५५ अनुसार राष्ट्रियसभा गठन नभएसम्म नयाँ सरकार गठनको बाटो नखुल्ने र प्रतिनिधिसभातर्फ समानुपातिक सांसद छनोटमा पनि समस्य हुने संवैधानिक व्यवस्था छ ।
भेटमा प्रधानमन्त्री देउवाले नयाँ संविधानको व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको, प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको र केही दिनभित्रै समानुपातिकतर्फको मतगणना पनि सम्पन्न हुने जानकारी राष्ट्रपतिलाई गराइएका थिए । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि नयाँ संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुगेको भन्दै यसका लागि प्रधानमन्त्री देउवासहित मन्त्रिपरिषदका अन्य सदस्य, राजनीतिक दल, सुरक्षा निकाय, निजामती कर्मचारी सबैलाई धन्यवाद दिइन् । समयमै निर्वाचन सम्पन्न गरेर प्रधानमन्त्री दउवाले मुलुमा जारी संक्रमणकाल अन्त्यमा महत्वपूर्ण योदान गरेको भन्दै राष्ट्रपतिले प्रश्रसा गरेकी थिइन् ।
निर्वाचनसँगै मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा सम्पन्न निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता र सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनाकांक्षा पूरा गर्न सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यमा राष्ट्रपतिले जोड दिएको उल्लेख छ । राष्ट्रपति भण्डारी विहिवारै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन बुझेकी छिन् । –नागरिक दैनिक