वीरगञ्जको सुपर ग्याँस प्लान्टमा भीषण आगलागी, २ जनाको मृत्यु

५ पुष २०७४, बुधबार ०४:२१

पुस ५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं.– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आज विहान भीषण आगलागी भएको छ । उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी हुदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाबाट गएको एउटा दमकल समेत जलेको छ ।


दमकल जल्दा यसका कर्मचारी सविन नेपाल घाइते भएका छन् । ग्यास उद्योगको आगलागी फैलने क्रममा नियन्त्रण बाहिर गएको छ । उद्योगमा भरेर राखेका सयौ ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरु समेत नजिक जान सकेका छैनन् ।   नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरी अग्नि नियन्त्रकहरुले आगो लागेको स्थानभन्दा २–३ सय मिटर परै बाट निभाउने प्रयास गरेपनि स्थित अनियन्त्रित रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिहले बताए । उद्योगभित्र रहेको ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको र ती शव कारखानामा कार्यरत मजदुरहरुको हुन सक्ने आशंका गरिएको छ । उद्योगभित्र कति मजदुरहरु थिए ,उनीहरुको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन ।ग्यासमा लागेको आगो नियन्त्रण गर्ने प्रविधि नेपालमा नरहेको र भारतको रक्सौलबाट प्रविधि सहितको टोली स्थानिय प्रसाशनले झिकाउने कार्य भईरहेको आगो नियन्त्रणका लागि खटिएका नेपाली सेनाको चण्डी प्रसाद गण वीरगंजका क्याप्टेन भोगेन्द्र कुमार घलेले बताए ।  स्थिति नियन्त्रणमा लिन वीरगंज महानगरपालिका, कलैया , सिमरा र हेटौडा उप महानगरपालिका ,नपाल आयल निगम अमलेखगंजका ५ वटा दमकलले प्रयास गरिरहेको पर्साका प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले बताए । यसैबीच ग्यास उद्योग नजिकै बाक्लो बस्ती रहेको हुदा आसपासका ५ वटा गाउलाई हाई अर्लटमा राखिएको प्रहरीले जनाएको छ ।