लोकत्रन्तलाई कसरी संस्थागत गर्ने सिकाउछौं– अध्यक्ष ओली

२६ मंसिर २०७४, मंगलवार ०८:४८

मंसिर २६ ,काठमाण्डौ ।
लोकत्रन्तलाई कसरी संस्थागत गर्ने आफूहरुले सिकाउने एमालेका अध्यक्ष केपि शर्मा ओलीको भनाई छ ।

गृहजिल्ला झापा निर्वाचन क्षेत्र नंम्वर ५ मा आयोजीत विजय सभामा ओलीले लोकत्रन्त संस्थागत गर्ने सवालमा बामपन्थीहरुबाट अरुले सिक्नु पर्ने धारणा राखेका छन् ।  ओलीले बामगठवन्धनदेखि अतालिएकाहरुले आफूहरुको गठवन्धनप्रति भ्रम छरेको बताउदै जनताले बिश्वास नगर्दा निर्वाचनमा अप्रयत्यासित हार व्यहोर्न परेको बताएका छन् ।  गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीमा भएको सभामा ओलीले सो क्षेत्रबाट आफूले पर्याप्त मत नपाएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले देशैभरी एकढंगको माहोल आईरहँदा यस ठाँउमा चाहि किन केपी ओलीको भन्दा अरुले धेरै भोट पाउने भन्दै प्रतिप्रश्न गरे ।
आफू देशभरिको चुनावी माहोलमा व्यस्त भएकाले गौरीगञ्जमा धेरै समय दिन नभ्याएको भन्दै उनले अझै पनि जनतामा केही भ्रम रहेको हुन सक्ने धारणा व्यक्त गरेका छन् ।

यस्तै, गौरादहमा भएको अर्को सभामा पनि उनले कार्यकर्तालाई देशैभरी यत्रो माहोल हुँदा पनि यस क्षेत्रमा किन केही मतदाताले अन्यत्र नै भोट दिए ?  त्यसको खोजी गर्नुस् र केही भ्रमहरु रहेका छन् भने हटाउनुस् भन्ने निर्देशन समेत दिए ।  निर्वाचन एउटा लोकतान्त्रिक अभ्यास रहेको भन्दै एमाले अध्यक्ष ओलीले जित्ने र हार्नेका बीचमा कुनै पूर्वाग्रह नराखी समान र समानुपातिक ढंगबाट विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अब गठन हुने सरकारले विकास र समृद्धिलाई केन्द्र भागमा राख्ने र सामाजिक न्याय तथा विकास निर्माणलाई अघि बढाउने उनको भनाई थियो । ओली प्रतिनिधिसभामा झापाको क्षेत्र नं. ५ बाट ५७ हजार १ सय ३९ मत प्राप्त गरेर विजयी भएका छन् ।