रुपन्देहीमा सिचाईकालागी स्यालो र डिप टुयुवेलको माग बढ्दो

१३ पुष २०७४, बिहीबार ०६:४५

तेजेन्द्र के.सी. पुष १३ , बुटवल ।
कम लगानी र थोरै समयमा बोरिङ्ग तयार गरी पानी निकाल्न सकीने भएपछि रुपन्देहीमा सिचाईकालागी स्यालो र डिप टुयूवेलको माग बढ्दै गएको छ ।

हाल जिल्लामा १५ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुगेको छ । जिल्लामा जडान भएका करिव ५ हजार स्यालो र डिप ट्युवेलबाट उक्त क्षेत्रफल जमिन सिंचित भएको हो । भूमिगत जल सिंचाई विकास डिभिजन कार्यालय बुटवलका अनुसार रुपन्देहीको दक्षिणी क्षेत्रमा सिंचाईका लागि स्यालो र डिप ट्यूवेलको माग बढ्दो छ ।  आर्थिक वर्ष २०७३÷७४ मा डिप ट्यूवेल मात्रै जिल्लामा ८ वटा जडान भएका छन् । त्यसमध्ये ६ वटामात्रै सफल भएको र २४० हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा बिस्तार भएको थियो । सिंचाई सुविधा नभएका क्षेत्रलाई मध्यनजर गर्दै सरकारले प्राथमिकताको आधारमा ट्युवेल प्रदान गर्ने गरेको छ ।

रूपन्देही जिल्लामा धेरैजसो खेतियोग्य जमिनमा आकाशे पानीमा भर पर्नुपर्ने अवस्था रहेको छन् । रूपन्देहीको दक्षिणी र पश्चिम क्षेत्रका धेरै जमिनमा सिंचाईको सुविधा छैन । त्यसैले यस क्षेत्रका किसानहरूले ट्युवेलको माग धेरै गर्ने गरेको तथ्यांक ६ जिल्ला कार्यक्षेत्र रहेको भूमिगत जलसिंचाई विकास डिभिजन कार्यालय बुटवलमा रहेको छ ।

“पछिल्लो समयमा किसानले स्यालो ट्युवेलको माग धेरै गर्ने गरेको कार्यालय प्रमुख सुरेन्द्रमान शाक्यले बताए । उनका अनुसार कम लगानी र थोरै समयमा बोरिङ्ग तयार गरी पानी निकाल्न सकिने भएकाले पनि किसानको यसतर्फ चासो बढेको छन् । स्यालो ट्युवेल जडान गर्नका लागि कम्तीमा पनि ६० विगाह जमिनका लागि ५ वटा बोरिङ्गको माग गर्नुपर्ने सरकारी नियम रहेको छ । बोरिङ्ग जडान जम्मा ४० देखि ५० हजार सम्म हुने कार्यालय प्रमुख शाक्यले बताए “

भूमिगत स्यालो तथा डीप ट्युबेल सिँचाइ आयोजनाअन्तर्गत निर्माण गरिएको सो कार्यक्रमबाट कृषिको उत्पादकत्व वृद्धि हुनुका साथै ग्रामीण क्षेत्रमा रहेको खानेपानी समस्या पनि समाधान हुने शाक्यको भनाइ छ । सबै सामानहरू कार्यालयले दिने तर बिजुली र जनश्रमदान भने स्थानीय बासिन्दाले जडान गर्नुपर्ने उनको भनाई छ । रूपन्देहीको दक्षिणी भेग र पश्चिम क्षेत्रका किसानहरूले खेति गर्नका लागि आवश्यक पर्ने पानी सहज रूपमा उपलब्ध हुन नसक्दा किसानले चाहे जति अन्न उत्पादन गर्न सकेका छैनन् । किसानलाई राहत होस् भन्ने उद्देश्य राखेर २०६४ सालमा कृषि विकास बैंकले सहुलियत ऋणलाई समूहमा लगानी गरेर बोरिङ्ग गाड्न सहयोग गरिरहेको छन् । यसको सही प्रयोग गर्न सके किसानको आर्थिकस्तर समेत बढ्ने सरकारको लक्ष्य रहेको छ ।

भूमिगत जलसिंचाई विकास डिभिजन बुटवलले रूपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी, स्याङ्गजामा बोरिङ्ग निर्माणको काम गरिरहेको छ । तर कतिपय स्थानमा गाडीका ट्यूवेलहरु भने प्रयोगबिहीन अवस्थामा समेत रहेका छन् । यसले एकातिर लगानी व्यर्थ भएको छ भने अर्कोतर्फ सिंचाई गर्न समस्या देखिएको छ । तिलोत्तमा नगरपालिका क्षेत्रमा सिंचाईका लागि गाडिएका डीप ट्यूवेलहरू प्रयोग बिहीन अवस्थामा रहेका छन् । सरकारले किसानको अवस्था सुधार्ने लक्ष्यले ट्यूवेल उपलब्ध गराएपनि तिलोत्तमा नगरपालिका भित्रका ट्यूवेलहरू त्यसै थन्किएका हुन् ।