रितले शतकीय पारी खेलेपछि नेपालले म्यानमारलाई फराकिलो चुनौती पारे

२८ मंसिर २०७४, बिहीबार ०६:४३

मंसिर २८, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई जितका लागि ३५१ रनको लक्ष्य दिएको छ । नेपालले दिएको ३५१ रनको लक्ष्यसहित म्यानमारले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा कप्तान रित गौतमले शतकीय पारी खेलेपछि नेपालले म्यानमारलाई फराकिलो चुनौती दिएको हो। त्यस्तै नेपालका तृत राज दास र प्रतिश जिशीले अर्धशतकीय पारी खेलेपछि नेपालले पुरै ३५ ओभर ६ विकेट गुमाएर ३५० रन बनायो ।    नेपालको उच्च योगफलको लागि रितले अविजित १०६ रन बनाए । रितले ७८ बलमा १२ चौका प्रहार गरेका थिए । अघिल्ला दुई खेलमा जम्न नसकेका रित म्यानमारबिरुद्ध शतक बनाउदै नेपाली यु – १६ को उमेर समूहमा शतक बनाउने पहिलो नेपाली खेलाडी बने । यस्तै अविजित रहेका प्रतिशले आक्रामक ब्याटिङ्ग गर्दै ३१ बलमा ६३ रन बनाए । उनले १० चौका र १ छक्का प्रहर गरे । तृत राज दासले २९ बलमा ६४ रन जोडेर अर्धशतक बनाए । त्यस्तै नेपालका विशाल बिक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास आयरले १७ रन जोडे । म्यानमारका हेइन हेट एङले ३ विकेट लिए ।

 

समूह ए बाट सेमिफाइनलमा पुगिसकेको नेपाल म्यानमारविरुद्ध जित निकाल्दै नेपाल समूह विजेता बन्न चाहन्छ । यता, अघिल्ला दुवै खेल गुमाएको म्यानमार नेपालमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।  समूह ए मा लगातार दुई खेलमा जित निकालेको नेपालले शिर्ष स्थानमा रहँदै ४ अंक जोडेको छ । नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो । म्यानमारलाई हराएमा नेपालले समूह ए को विजेता बन्ने छ । म्यानमार अंकबिहिन रहेको छ ।  नेपाल पराजित भएमा अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । समूह ए कै अर्को खेलमा अहिले हङकङ र थाइल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् । यो समूहमा २ अंक जोडेको हङकङ दोस्रो र समान अंकसहित थाइल्याण्ड तेस्रो स्थानमा छ । यो समूहबाट हङकङ र थाइल्याण्ड दुवैको सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

 

एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘बि’ मा मलेसिया, भुटान, चीन र सिंगापुर रहेका छन् । यो समूहमा सिंगापुर लगातार २ खेलमा जित निकाल्दै ४ अंक जोडेर सेमिफाइनलमा पुगिसकेको छ । यो समूहमा मलेसिया दोस्रो र चीन तेस्रो स्थानमा रहेका छन् । दुवैको समान २ – २ अंक छ । अंकबिहिन भुटान पुछारमा छ ।