राष्ट्रपति भण्डारी र दाहालबीच भेटवार्ता

१३ पुष २०७४, बिहीबार ०६:४९

पुस १३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम चाँडो नयाँ सरकार गठन भई मुलुकको समृद्धितर्फ लाग्ने कार्यमा सफलता मिलोस् भनी अध्यक्ष दाहाललाई शुभकामना व्यक्त गरिन्।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जनताको भावना बमोजिम सरकार गठनपछि मुलुकको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिले गति लिने अपेक्षासमेत व्यक्त गरेकी थिइन्।

राष्ट्रियसभाको निर्वाचन कुन पद्धतिमा गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद कायम हुँदा त्यससम्बन्धी अध्यादेश जारीमा ढिलाइ भइरहेको छ। राष्ट्रियसभाको निर्वाचनपछि या अगावै नयाँ सरकार बन्ने भन्ने पनि टुङ्गो लागिसकेको छैन।