राष्ट्रपति भण्डारीलाई सामाजिक संजालमा गालीगलौज गर्ने एक पक्राउ

२८ मंसिर २०७४, बिहीबार १६:०९

मंसिर २८, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादित शब्द प्रयोग गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिकाका विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ ।

बानियाँले राष्ट्रपति भण्डारीलाई सरकारले किन्न लागेको १६ करोड पर्ने गाडीको बिषयलाई लिएर सामाजिक संजालमा अश्लिल गाली गरेको जनाइएको छ । नेपाल विद्यार्थी संघ निकट रहेका बाँनियाको रिहाईका लागि त्रिचन्द्र कलेज रहेको क्षेत्रमा विद्यार्थीहरुले चक्का जाम गरेका थिए ।

उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । सो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र १ लाख रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।