यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा भारतसँग नेपालको प्रतिस्पर्धा आज

४ पुष २०७४, मंगलवार ०५:००

पुस ४, काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज भारतको सामना गर्दैछ । आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार अपरान्ह सवा २ बजे सुरु हुनेछ । पहिलो खेलमा पराजित नेपाल भारतविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रँदैछ । तर, आयोजक बंगलादेशसँग ६ – ० ले पराजित नेपाललाई भारतविरुद्ध जित निकाल्न निकै कठिन हुने देखिएको छ ।

भारतले आइतबार भएको पहिलो खेलमा भुटानलाई ३ – ० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरिसकेको छ । पहिलो खेलमा पराजित भएपनि बलियो भारतविरुद्ध मैदान उत्रदा नेपालले फरक रणनीति बनाउने प्रशिक्षक गंगा गुरुङले बताएकी छिन् । प्रशिक्षक गुरुङले नेपालको मिडफिल्डमा देखिएको समन्वय अभावलाई सुधार गरिरहेको र कमजोर देखिएको डिफेन्सलाई समेत मजबुद बनाएर मैदान उत्रने जानकारी दिइन् ।

दक्षिण एसियाका चार राष्ट्र सहभागी च्याम्पियनसिपको फाइनलमा चरणमा पुग्न नेपाललाई भारतविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । यदि नेपाल भारतसँग पराजित भएमा नेपालको फाइनल चरण पुग्ने सम्भावना सकिने छ । राउण्ड रोबिनको आधारमा भईरहेको च्याम्पियनसिपमा नेपाल अंकबिहिन रहदै पुछारमा छ । नेपालले अन्तिम खेलमा भुटानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
यता, भारत ३ अंक जोडेर दोस्रो स्थानमा छ । च्याम्पियनसिपको पहिलो स्थानमा ३ अंक जोडेको बंगलादेश रहेको छ भने अंक विहिन भुटान तेस्रो स्थानमा छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल पुस ९ गते हुनेछ ।