मुख्यमन्त्रीको आकांक्षासहित थारु समुदायका २ सय २ उम्मेद्वार मैदानमा

१६ मंसिर २०७४, शनिबार ०१:५८

मंसिर १६, कामठाडौं । मुलुकको कुल जनसंख्यामा चौथो हिस्सा ओगटेको थारु समुदायबाट प्रतिनिधिसभा र प्रद्ेशसभा निर्वाचनमा प्रत्यक्षतर्फका २ सय २ उम्मेद्वार मैदानमा छन् । तीमध्ये विभिन्न दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा ६७ र प्रदेशसभामा १ सय ३५ थारु उम्मेद्वार छन् ।

सबैभन्दा धेरै स्वतन्त्रतर्फ उम्मेद्वारी परेको छ । प्रतिनिधिसभामा १४ जना र प्रदेशसभामा २६ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । थारु समुदायबाट प्रदेशसभामा उम्मेद्वार बनेका कतिपयले मुख्यमन्त्रीको आकांक्षासमेत देखाएका छन् ।  नेपाली काँग्रेसले प्रतिनिधिसभामा ७ जना र प्रदेशसभामा १९ जना थारु उम्मेद्वार उठाएको छ भने नेकपा एमालले प्रतिनिधिसभामा ६ र प्रदेशसभामा ९ जना थारु उम्मेद्वार उठाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ७ जना उम्मेद्वार यसै समुदायबाट उठाएको छ । राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभामा ९ जना र प्रदेशसभामा ११ जना तथा संघीय समाजबादी फोरमले प्रतिनिधिसभामा ४ र प्रदेशमा १० जना थारु समुदायको उम्मेद्वार उठाएको छ । अन्य दलबाट प्रतिनिधिसभामा २४ र प्रदेशमा ५३ जना थारुले उम्मेद्वारी दिएका छन् ।

यस्तै विभिन्न दलले बुझाएको समानुपातिक सूचीमा ४ सय ४ जना थारु उम्मेद्वार समेटिएका छन् । यो पूर्ण सूचीको ६.९ प्रतिशत हो । यसमा १ सय ५५ जना पुरुष र २ सय ४९ जना महिला छन् । –नागरिक दैनिक