मतगणना अन्तिम चरणमा, प्रत्यक्षतर्फको सबै नतिजा आज

२६ मंसिर २०७४, मंगलवार ०१:३६

मंसिर २६, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

 

निर्वाचन आयोगले भनेको समयसीमामा नै मतपरीणाम आउने भएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फको मतपरीणाम ४ देखि ७ दिनभित्रमा आउने बताएको थियो ।   आयोगका अनुसार प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये सोमबार रातिसम्म १ सय ५७ निर्वाचन क्षेत्रको परिणाम आईसकेको छ । त्यसमा एमाले ७७, नेकपा माओवादी केन्द्र ३४, नेपाली काँग्रेस २१, राष्ट्रिय जनता पार्टी १०, संघीय समाजवादी फोरम १०, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल र स्वतन्त्र दलले १÷१ स्थानमा विजय हासिल गरेका छन् ।  प्रतिनिधिसभातर्फ ८ ओटा निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी रहेको छ । आज मंगलबारसम्म सबै निर्वाचन क्षेत्रको मतपरिणाम आइसक्ने आयोगका प्रवक्त नवराज ढकालले जानकारी दिए । परिणाम आउँन बाँकीमा सुनसरी–३, (एमाले अग्रता), सर्लाही–४, (राजपा अग्रता), सर्लाही–१ (एमाले अग्रता), स्याङजा–१ (एमालेको अग्रता), कैलाली–१ (राजपाको अग्रता), कैलाली–२ (एमालेको अग्रता) र कञ्चनपुर –३ (एमालेको अग्रता रहेको छ ।

 

त्यसै गरी प्रदेशसभाका ३ सय ३ क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २७ निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको छ ।  प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना भने जारी रहेको छ । आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना कार्य ३७ जिल्लामा सम्पन्न भएको छ ।   रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ,रुकुम रुर्व, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, डडेल्धुरा, बझाङको समानुपातिकतर्फको मतगणना कार्य जारी रहेको छ । समानुपातिकतर्फको मतगणना कार्य जारी रहेको जिल्लामा मोरङ, सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रामेछाप, गोरखा, बाग्लुङ, पाल्पा, दोलखा, रोल्पा, दाङ, रुकुम पश्चिम, कालिकोट, जाजरकोट, हुम्ला, दैलेख, बैतडी र दार्चुला छन् ।

 

पछिल्लो विवरणअनुसार १० हजारभन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुमा नेकपा एमाले, ३ लाख २८ हजार ६ सय २८, नेपाली काँग्रेस ३ लाख २६ हजार ६ सय ७४, नेकपा माअ‍ेवादी केन्द्रको नेतृत्वमा रहेको दलहरु १ लाख ६० हजार १ सय १६, राष्ट्रिय जनता पार्टी नेपाल २४ हजार ८ सय ४०, विवेकशील सझा पार्टी १४ हजार ६०, राष्ट्रि प्रजातन्त्र पार्टी १४ हजार ६०, संघीय समाजवादी फोरम नेपाल, १३ हजार ८ सय ७९ र नयाँ शक्ति पार्टीले १० हजार ६ सय ३४ मत प्राप्त गरेका छन् ।  आयोगले मंसिर मसान्तभित्र समानुपातिक निर्वाचनको मतपरिणाम आइसक्ने जनाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मत परिणाम पहिलेको भन्दा चाँडो आएको पाएको छ । मतपत्र सहज हुनुका साथै मतगणनाका कर्मचारीले देब्बर समय काम गरेकाले मतपरिणाम चाँडै आएको जनाएको छ । आयोगले समयको ख्याल गरेर मतगणना दिनुपर्ने भएकाले समयको ख्याल गरेर मतगणना गरिरहेको निर्वाचनमा खटिउका कर्मचारीले बताए ।  –नेपाल समाचारपत्र