बेलायत ग्लेनफिल्ड अस्पतालमा छातिबाहिर मुटु निस्केको शिशुको सफल शल्यक्रिया

२७ मंसिर २०७४, बुधबार १५:०८

मंसिर २७, काठमाडौं । बेलायतको लेस्टरस्थित ग्लेनफिल्ड अस्पतालमा मुटु छातिबाहिर एक शिशुको सल्यक्रिया गरी मुटुलाई छातिभित्र राखिएको छ ।

शल्यक्रिया सफल भएपछि शिशु बाँचेकी छन् । तीन साताअघि जन्मिएकी भेनेलोप होप विल्किन्सको ब्रेस्ट बोन समेत छैन । उनी सिजेरियन गरि जन्मिएकी थिइन् । बाहिर निस्केको मुटु छातिभित्र राख्न यो समेत तीनपल्ट शल्यक्रिया गरिएको छ ।  यसरी मुटु छातिबाहिर हुने स्थितिलाई ‘एक्टोपिया कर्डिस’ भनिन्छ । यस्तो केस १० लाख शिशुमध्ये एक जनामा हुन सक्छ । मुटु छातिबाहिर भएका अधिकांश शिशु जन्मनुअघि नै मृत भइसकेका हुन्छन् ।  अस्पतालले यसअघि बेलायतमा जन्मेका यस्ता कुनै पनि शिशु नबाँचेको जानकारी पनि दिएको छ । नटिङघममा बस्ने शिशुका बाबुआमा ३१ वर्षीया नाओमी फिन्डले र ४३ बर्से डिन विल्किन्सले छोरी भ्यानेलोप वास्तवमै ‘बाँच्नका लागि बहादुरीपूर्वक जीवनयुद्ध’ गरिरहेकी बताएका छन् ।

‘अल्ट्रासाउन्ड गर्दा उनको मुटु छातिबाहिर देख्दा नै म तर्सिएकी थिएँ’, नाओमीले भनिन्, ‘यो डरलाग्दो थियोे र त्यस्तो पनि हुनसक्छ भनेर हामीलाई कुनै जानकारी थिएन ।’  रगत परीक्षण गराउँदा कुनै पनि वंशाणुगत खराबी वा ‘क्रोमोजोम एब्नर्मालिटिज’ नदेखिएपछि उनीहरूले सन्तान पाउने नै निर्णय लिएका थिए ।  ‘पछि भने हामीलाई गर्भपात गराउन सल्लाह दिइएको थियो,’ डिनले भने, ‘साथै यस्तो अवस्थामा छोरी बाँच्ने सम्भावना छैन पनि बताएको थियो । हामीलाई बाहेक अरु कसैले पनि उनी बाँच्छिन् भन्ने विश्वासै थिएन ।’   भ्यानेलोप क्रिसमसको पूर्वसन्ध्यामा जन्मने अपेक्षा गरिए पनि २२ नोभेम्बरम सिजेरियनबाट जन्मेकी थिइन् । उनको मुटुलाई क्षतिग्रस्त र संक्रमण हुनबाट जोगाउन सिजेरियन गरि जन्माइएको थियो ।   प्रसूति विशेषज्ञ, मुटु सर्जन, एनेस्थेटिस्ट्स, नवजात विशेषज्ञ र नर्ससहित करिब ५० जनाको समूहले उनलाई सिजेरियनबाट जन्म दिलाएका थिए ।

सिजेरियनबाट जन्मेको करिब ५० मिनेटभित्रै उनको मुटु छातिभित्र राख्ने क्रममा पहिलो शल्यक्रिया गरिएको थियो ।   त्यसपछि गरिएको दोस्रो शल्यक्रियामा भ्यानेलोपको शरीरको छाला निकाली छातिको प्वाल छोपिएको थियो । ‘उनी जन्मनुअघि उनको बाँच्ने सम्भावना अत्यन्त न्यून थियो,’ वरिष्ठ बालमुटुरोग विशेषज्ञ फ्रान्सिस बुलकले भने, ‘तर अहिले भने स्थिति फरक छ– भ्यानेलोपको स्वास्थ्य राम्रो छ र उनी यो सबै थेग्ने निकै सशक्त देखिएकी छन् ।’  उनले पछि मुटुको सुरक्षाका लागि भ्यानेलोपको छातिमा हाड हालिने पनि बताए । यस्तो हाड उनको शारीरिक वृद्धिसँगै बढ्ने गरी थ्रिडी प्रिन्टिङ वा केही अग्र्यानिक पदार्थको हुने पनि बुलकले बताए ।

 

जन्मदा छातिबाहिर मुटु भएका केही बालबालिका अमेरिकामा पनि जीवित छन् । तीमध्ये सन् २०१२ अक्टोबरमा टेक्सासमा जन्मेकी अड्रिना कार्डिनास पनि एक हुन् ।  उनको पनि शल्यक्रिया गरी छातिभित्र मुटु हालिएको थियो र तीन महिनापछि डिस्चार्ज गरिएको थियो ।  अड्रिनालाई छातिको सुरक्षाका लागि प्लास्टिकको कवच दिइएको थियो ।  भ्यानेलोपले अझै धेरै समस्या सामना गर्नुपर्ने र तीमध्ये प्रमुख समस्या संक्रमण भएको ग्लेनफिल्ड अस्पतालले जनाएको छ ।  सफल शल्यक्रियापछि अब अर्को चरणमा उनलाई भेन्टिलेटरबाट झिकिनेछ । अहिले शल्यक्रियापछि स्वास्थ्यमा छिटो सुधार ल्याउन भेन्टिलेटरमा राखिएको थियो ।  भ्यानेलोपका बाबु डिनका अनुसार उनले प्रतिकूल परिस्थितिलाई चुनौती दिइरहेकी छन् । उनी भन्छन्, ‘यो महान चमत्कार हो ।’ डिन दम्पतिले वाल्ट डिज्नीको फिल्म ‘रेक–इट राल्फ’को एउटा चरित्रका आधारमा नै छोरीको नाम भ्यानेलोप राखेका थिए ।

फिल्ममा एउटी बहादुर लडाकु भ्यानेलोप अन्त्यमा एउटी राजकुमारी भएको पत्ता लाग्छ र छोरीका लागि उनको नाम उपयुक्त हुने ठानेर भ्यानेलोप नाम राखेको नाओमीले बताइन्।