प्रथम चौमासिक सकिँदासम्म पनि भूकम्पपछिको पुनर्निर्माणमा अपेक्षाकृत खर्च हुन सकेन

१० पुष २०७४, सोमबार ०५:२०

पुस १०, काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासिक सकिँदासम्म पनि भूकम्प पछिको पुनर्निर्माणमा अपेक्षाकृत खर्च हुन सकेको छैन । चालु बजेटमा पुनर्निर्माण शीर्षकमा सरकारले छुट्याएको कुल बजेट मध्ये हाल सम्म ११.५५ प्रतिशत मात्र खर्च भएको पाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहिलो चौमासिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनमा हाल सम्म १३ अर्ब ८९ करोड ७३ लाख ८० हजार ५९४ रुपैयाँ खर्च भएको उल्लेख छ । चालु आवको बजेटमा सरकारले प्राधिकरणलाई एक खर्ब ४५ अर्ब ९३ करोड ४९ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको छ । यो बजेट प्राधिकरणले विभिन्न मन्त्रालय मार्फत पुनर्निर्माण कार्यमा खर्च गर्छ ।

प्रतिवेदन अनुसार अर्थ मन्त्रालयले प्राधिकरण मार्फत खर्च गर्न सरोकारवाला निकायलाई एक खर्ब २० अर्ब ३६ करोड ५८ लाख ७९ हजार रुपैयाँको अख्तियारी दिइसकेको छ । तर ती निकायले अख्तियारी पाएको रकम मध्ये निकै न्यून खर्च गरेका छन् । पुनर्निर्माण बजेटमा सबैभन्दा बढी रकम निजी आवास पुनर्निर्माणका लागि छुट्याइएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना एकाइले निजी आवास पुनर्निर्माणका लागि अनुदान वितरण गर्दै आएको छ । यसका लागि एकाइलाई ६९ अर्ब ७३ करोड ६० लाख ३२ हजार रुपैयाँ उपलब्ध गराइएको छ । जस मध्ये ५९ अर्ब ७२ करोड ७४ लाख २२ हजार रुपैयाँ खर्च गर्ने अख्तियारी उसले पाइसकेको छ । तर एकाइले हाल सम्म ११ अर्ब १६ करोड ४३ लाख ६९ हजार ८७८ रुपैयाँ मात्र खर्च गरेको प्रतिवेदनमा छ । –नागरिक दैनिक