प्रतिनिधिसभाका ७४ र प्रदेशसभाका १६१ क्षेत्रको मतगणना सम्पन्न :निर्वाचन आयोग

२४ मंसिर २०७४, आईतवार ०५:२२

मंसिर ४, काठमाडौं । मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी रहेको छ ।

मंसिर २१ गते दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भई हिजो पुनः मतदान सम्पन्न भएपछि अर्घाखाँची जिल्लाको मतगणना कार्य गएरातीबाट सुरु भई मतपरिणाम आइरहेको छ भने दलहरुबीचको विवादका कारण मतणना सुरु हुन नसकेको स्याङ्जा जिल्लाको मतगणना कार्य आजै बिहान १०ः३० बजेबाट सुरु हुने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाबाट प्राप्त भएको छ ।

आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज बिहान ९ बजेसम्मको प्राप्त विवरण अनुसार, ७७ जिल्लामध्ये प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना कार्य १६ जिल्लामा सम्पन्न भएको छ । रसुवा, म्याग्दी, मनाङ, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, बाजुरा, बझाङ जिल्लाको समानुपातिकतर्फको मतगणना कार्य पनि समाप्त भएको छ भने बाँकी आठ जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य जारी रहेको छ ।

समानुपातिकतर्फको मतगणना कार्य जारी रहेका जिल्लामा सोलुखुम्बु, ओखलढुंगा, धनुषा, जुम्ला, हुम्ला, मुगु, वैतडी र दार्चुला छन् । मत परिणामको विवरण भने आयोगलाई प्राप्त भइसकेको छैन ।

यसैगरी, आयोगमा रहेको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ७४ क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ । जसमा ७३ पुरुष र एक महिला निर्वाचित हुनुभएको छ । यसैगरी, प्रदेशसभातर्फ ३३० निर्वाचन क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको मतगणना कार्य सम्पन्न भएको छ । जसमा १५३ पुरुष र आठ महिला निर्वाचित हुनुभएको छ ।