प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर : प्रधानमन्त्री देउवा

१२ पुष २०७४, बुधबार ०३:१०

पुस १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आफू आतुर भएको फेरि दोहोर्याएका छन् । मंगलबार चितवनको सौराहमा १४ औं चितवन हात्ती महोत्सवको उद्घानपछि बोल्दै देउवाले भने, ‘सरकार संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आतुर छ ।’

प्रधानमन्त्री देउवाले कांग्रेस सत्तामा नभए पनि देशको विकासका लागि प्रतिबद्ध रहने बताएका छन् । ‘सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरेर तीन चरणका चुनाव सफलतापूर्ण सम्पन्न गरेको छ, यसले नेपालमा रहेको लामो समय देखिको संक्रमणलाई अन्त्य गरेको छ ’, प्रधानमन्त्री देउवाले भने, ‘कांग्रेस सत्तामा रहे पनि नरहे पनि नेपाल र नेपालीको विकासका लागि निरन्तर प्रतिबद्ध छ।’

कांग्रेस सभापति समेत रहेका देउवाले नेपालको राजनीतिक इतिहासमा हरेक संकमणको अन्त्य गर्न कांग्रेस नेतृत्वको सरकार सफल भएको समेत दाबी गरे । ‘इतिहास हेरे हुन्छ, कांग्रेसले नेतृत्व गरेका सरकारले एेतिहासिक संक्रमणको अन्त्य सफलतापूर्ण ढंगले गरेका छन् ।’ तीन चरणको चुनाव सम्पन्न भएसँगै देश विकासको ढोका खुलेको देउवाको भनाइ छ । उनले चितवन र सौराहा पर्यटकका लागि आकर्षक गन्तव्य भएकाले यी क्षेत्रको सुधार र विकासमा सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे ।  –अन्नपूर्ण दैनिक