पैँतालिस जिल्लाका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सुरु

२१ मंसिर २०७४, बिहीबार ०१:४९

मंसिर २१, काठमाडौँ । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज ४५ जिल्लामा मतदान सुरु भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान सुरु भएको हो ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले तोकेको छ ।

दोस्रो चरणको यस निर्वाचनमा सात हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

यसअघिको निर्वाचनमा भन्दा यसपटक बढी मतदाताले मतदान गर्ने अनुमान आयोगले गरेको छ ।

यही मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आजको निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

कुन प्रदेशका कुन जिल्लामा आज मतदान हुँदैछ ?
प्रदेश नं १— इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी ।
प्रदेश नं २— सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट ।
प्रदेश नं ३— सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर ।
प्रदेश नं ४— नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत ।

प्रदेश नं ५— नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया ।
प्रदेश नं ६— सल्यान, सुर्खेत र दैलेख ।
प्रदेश नं ७— कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी ।