न तलब न घर बिदा कतारमा अलपत्र नेपाली

५ पुष २०७४, बुधबार ०७:५९

पुस ५, काठमाडौं ।
वैदेशिक रोजगारीको लागि कतार पुगेका नेपालीहरु अलपत्र परेका छन् । कतारको इजीबेल भन्ने कम्पनीमा कार्यरत १० जना अलपत्र परेका हुन् ।अलपत्र पर्ने मध्य ६ जना नेपाली,२ भारतीय, २ जना श्रीलंकाली रहेका छन् ।
भिसा सकिए पनि कम्पनीले बिदा स्वीकृत नगर्दा र थप नगरिदिँदा समस्यामा परेका कतारमा रहेका गोरखाका कृष्णहरि घिमिरेले जानकारी दिए ।
“हाम्रो भिसाको म्याद सकिए पनि थप गरिदिने भन्दा पनि कम्पनीले मान्दैन, बिदा दे भन्दा पनि दिँदैन,” सोही कम्पनीमा कार्यरत घिमिरेले भने –“तीन महिनाको तलब पनि दिएको छैन् ।”


कम्पनीले तलब र भिसा दुबै नदिएको उनको गुनासो छ । “अहिले त काम पनि गर्न दिएको छैन । १८ दिन भयो हामीले काम नगरेको । बेहाल भइयो । कहीं कतै जान पाइँदैन । कोठाको कोठा भइएको छ ।” –उनले भने । कतारस्थित तल्लो श्रम अदालतमा मुद्दा समेत हालेका छन् । मुद्दा नहाल भनेर धम्कीसमेत कम्पनीको मालिकले दिएको उनले सुनाए ।
नेपाली दुतावाससम्म जाने पहुँच नै नभएको उनले सुुनाए । “नेपाली दुतावाससम्म जान हाम्रो पहँुच पुग्दो रहेनछ,।” उनले दुःख मान्दै भने–“दुतावासमा कुरा पुगे पनि वास्ता नै गरिन्न रे, अरु दुःख पाएर त्यहाँ पुगेका साथीहरुले भनेको । देशमा केही उपाय नलागेर यहाँ आएको झन् फसियो ।” उनीहरुले आफूलाई कतार पठाउने रोलेक्स रिक्युमेन्ट एजेन्सी म्यानपावरका सञ्चालक तोया ढकाललाई सम्पर्क गर्दा पनि बेवस्ता गर्ने गरेको बताए । सो बिषयमा ढकालसँग कुरा गर्दा कम्पनी बन्द भएको र श्रमीकहरुको उद्धारको लागि कुनै पहल नचालेको स्वीकार गरे ।