दोस्रो चरणको चुनावमा ६७ प्रतिशत मतदान ः आयोग

२१ मंसिर २०७४, बिहीबार १२:५२

मंसिर २१, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणमा बिहीबार सम्पन्न चुनावमा करिब ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पत्रकार सम्मेलन गरी औपचारिक रूपमा आयोगले सो जनाएको हो ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २ सय ५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको छ । बिहीबार बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको थियो ।

पहाडी तथा तराई–मधेसका गरी ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनमा कूल १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता थिए ।