जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णय अस्वीकार

७ पुष २०७४, शुक्रबार ०३:५७

पुस ७,वासिंटन । संयुक्त राष्ट्रसंघ महासभाले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णय अस्वीकार गरेको छ ।

प्रस्ताव अस्वीकार गर्नेमा १२८ मुलुक थिए भने समर्थन गर्नेमा जम्मा ९ वटा मुलुकमात्रै रहे । अरु ३५ मुलुक मतदानमै उपस्थित भएनन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी निर्णयको विपक्षमा उभिने मुलुकलाई आर्थिक सहयोग नै रोक्ने धम्की दिएका थिए ।  मतदानपछि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका प्रवक्ताले यो प्यालेस्टिनीहरुको जित भएको बताए । उता, इजरायली प्रधानमन्त्री बेन्जामीन नेत्यान्याहुको कार्यालयले महासभाको निर्णय अस्वीकार गर्ने जनाएको छ ।

 

क्यानडा र मेक्सिको मतदानमा अनुपस्थित रहँदा फ्रान्स, बेलायत, जर्मनी र जापानजस्ता अमेरिकीनिकट सहयोगी राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।  प्रस्ताव बाध्यकारी नमानिए पनि ट्रम्प प्रशासनकालागि यो निकै ठूलो धक्का हो । अरब र मुस्लिम देशहरुको मागबमोजिम १ सय ९३ सदस्यीय महासभाको आपत्कालिन सत्र बोलाइ यसबारे निर्णय लिइएको हो ।  मस्यौदा प्रस्तावमा जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरिएको छ । यसै महिनाको शुरुमा राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको मान्यता दिएपछि विश्वभरबाट आलोचना भएको थियो भने त्यसले मध्यपूर्वमा व्यापक आक्रोश निम्त्याएको थियो । नेपाल, भारत, चीन जस्ता मुलुकले पनि प्रस्तावको विपक्षमा मत दिएका छन् ।