छुट्टा – छुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

१ पुष २०७४, शनिबार ०४:०८

पुस १, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक र कमल गाउँपालिका जोड्ने रतुवा पुलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका– १ निवासी २९ वर्षीय दिनेश पोखरेल रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ३३११ नंको बसले विपरीत दिशातर्फ आउँदै गरेको मे ७ प ३८४२ नं को मोटरसाइकललाई ठक्कर दिएको प्रहरी निरीक्षक जबेगुले बताए ।

 

बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष दाहाल समेत घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका– ८ निवासी ७२ वर्षीय कुलकुमार श्रेष्ठ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प २६२९ नंको मोटरसाइकलले बाटो काट्ने क्रममा पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उता पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३६ प २४७९ र पूर्वबाट पश्चिम जाँदै गरेको ज १० प ७७३२ नंको मोटरसाइकल बर्दिवास नगरपालिका–५ मा पर्ने माईस्थानमा ठोक्किँदा सिन्धुली, तीनपाटनका २७ वर्षीय जीवन पोखरेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको हो । रासस