चार पाङ्ग्रे सवारी साधनका लागि अनिवार्य इम्बोस्ड नम्बर

२९ मंसिर २०७४, शुक्रबार ०३:२५

मंसिर २९, काठमाडौं । आगामी चैत्र मसान्त सम्म प्रदेश नं. ३ अर्थात साविकको बागमती अञ्चलमा दर्ता भएका चार पाङ्ग्रे सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने भएको छ । यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरी तोकिएको समय भित्र अनिवार्य रूपमा उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेट जडान गर्न आह्वान गरेको हो ।

विभागका अनुसार सरकारी र संस्थानका सबै चार पाङ्ग्रे सवारी साधनले चैत्र मसान्त सम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्छ । त्यस्तै निजी चारपाङ्ग्रे सवारी साधनतर्फ लट नम्बर १ देखि १२ सम्मले अनिवार्य रूपमा चैत्र मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नु पर्नेछ । साथै सो अवधिमा ऐच्छिक रूपमा लट नं. १२ देखि माथिका २ र ३ पाङ्ग्रे सवारीसाधनले पनि इम्बोस्ड नम्बर जडान गर्न सक्ने विभागका प्रवक्ता डा। टोकराज पाण्डेले जानकारी दिए ।
लट नं. १३ देखि माथिका सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनले २०७५ असार मसान्त सम्ममा अनिवार्य रूपमा इम्बोस्ड नम्बर राखि सक्नु पर्ने विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेटका लागि अनलाईन आवेदन २४ घण्टा खुला राखिएको प्रवक्ता डा. पाण्डेले बताए । इम्बोस्ड नम्बर प्लेट वितरणका लागि सबै तयारी पूरा भएको र प्रक्रिया पूरा हुनासाथ प्लेट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ । विभागले गत भदौ ५ गतेबाट उच्चस्तरीय सुरक्षा सहितको इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गरेको थियो । भदौ ९ गतेबाट बागमती अञ्चलमा दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट वितरण सुरु गरेको थियो ।
– गोरखापत्रबाट