कैदी कोठामा बसेर चुनाव प्रभावित पादै सञ्जय शाह

१७ मंसिर २०७४, आईतवार ०३:५६

मंसिर १७, काठमाडौ ।  धनुषा क्षेत्र नं ३ अहिले चुनावी चर्चाको शिखरमा छ । नेपाली कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधि तथा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका राजेन्द्र महतो सो निर्वाचन क्षेत्रमा उमेदवार बनेका छन् ।

नेपाली कांग्रेसको बर्चस्व भएको क्षेत्र मानिएता पनि जनकपुर उपमहानगरपालिकाको मेयरको निर्वाचनमा राजपाका लालकिशोर साहले करिब ११ हजार मतले जित हासिल गरेकोले पनि निर्वाचन चर्चित बनेको छ । नागरिक दैनिकले यो समाचारलाई ६ कोलमको मुख्य समाचार बनाएको छ । नागरिकका अनुसार यो निर्वाचनमा दुई उमेदवार बाहेक सिरहा कारागारमा रहेका जनकपुरका सञ्जय शाहको प्रवेशले अझै रोमांचकता थपेको छ ।    सञ्जय साह ‘टकला’ भन्ने एक स्थानीय ठेकेदार र जग्गा व्यापारी नेपाली कांग्रेसमा प्रवेश गरेर राजनीतिक शरणका आधारमा काम गरिरहेका थिए । २०६४ सालको निर्वाचनमा उनले मधेसी जनाधिकार फोरमबाट संविधान सभा सदस्यको चुनाव जिते । त्यस्तै २०७० सालमा राजेन्द्र महतोको सद्भावना पार्टीबाट चुनाव जिते । तर २०७१ सालमा अदालतले उनलाई दुईवटा मुद्दामा संलग्न भएको आरोपमा जेल पठायो ।

 

२०६६ साल फागुन १७ गते जनकपुरका सञ्चार व्यवसायी अरुण सिंघानियालाई शिव चोकमा गोली हानेर मारेको तथा २०६९ सालमा वैशाख १८ गते रामानन्द चोकमा विस्फोट गराएर पाँच जनाको ज्यान गएको मुद्दामा अदालतले उनलाई जेल पठाएको हो । लहान जेलमा रहेका साहलाई काठमाडौं जेलमा लगिएता पनि अहिले उनले नेपाली कांग्रेसका उमेदवार बिमलेन्द्र निधिलाई समर्थन गरेको कारण फेरी उनलाई सिरहा जेलमा स्थानान्तरण गरिएको छ । उनी जनकपुर नजिकको जेलमा बसेका मात्र होइन जेलभित्रैबाट उनको अन्तर्वार्ता पनि रेडियोमा बजाएर कैदीले राजनीनिक अन्तर्वार्ता दिन पाउने कि नपाउने भन्ने विवाद पनि शुरु भएको छ । उनले आफूलाई भेटन आउने सबैलाई आफ्ना पुराना नेता राजेन्द्र महतोको विरुद्ध भड्काएका छन् । उनले आफैले पनि जेलबाटै फोन गरेर सबैलाई राजेन्द्र महतोलाई मत नदिन आव्हान गरेको समाचार नागरिकमा मिथिलेश यादवले लेखेका छन् ।   दैनिक पत्रिकामा सञ्जय साहको समाचार यो पहिलो भने हैन । अरु दैनिक पत्रिकाले पनि यो समाचार प्रकाशित गरिरहेका छन् । यो समाचार प्रकाशित हुँदा र हत्याको आरोपमा जेल परेका कैदीबाट समर्थन पाउने वा नपाउने उमेदवारको अन्तिम परिणाम कस्तो हुन्छ त्यो हेर्न अब पाठकले धेरै कुर्नु पर्ने छैन । तर, यो समाचारलाई नागरिकले जुन महत्व दिएको छ, त्यति धेरै महत्व दिनुपर्ने हो कि होइन भन्ने विषयमा पनि तर्क हुन सक्छन् ।

कस्को कति सिट ?

राजधानी दैनिकले दलहरू आन्तरिक मूल्यांकनमा व्यस्त भएको समाचारलाई मुख्य समाचारको रुपमा पेस गरेको छ । सुभाष शाहको बाईलाइन भएको सो समाचारका अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले आफूले दुई तिहाइ ल्याउने आकलन गर्दैछन् भने नेपाली कांग्रेस, राप्रपा तथा अन्य साना दलको लोकतान्त्रिक गठबन्धनले पनि स्पष्ट बहुमत ल्याउनेमा विश्वासका साथ अभि बढेका छन् । मधेसवादी दलले भने यो पल्ट केन्द्रमा बलियो उपस्थिती बनाउने विश्वास लिएका छन् ।

कसले गराइरहेछ विस्फोट ?

कान्तिपुरको आइतबारको मुख्य समाचारको शीर्षक प्रश्नमूलक छ, ‘कसले गराइरहेछ विस्फोटरु’ । साधारणतया समाचारको शीर्षकमा प्रश्न राखिदैन । तर कुनै कुनै बेला भने प्रश्नवाचक शीर्षक हुन सक्छन् । यो समाचारको हकमा कान्तिपुरले कसैले जिम्मेवारी नलिएको कारणले प्रश्न गरेको हुनसक्छ । तर समाचारको पेटबोलीमा अहिलेसम्म भएका विस्फोटको घटनामा कस्तो काम कारवाही भइरहेको छ र सुरक्षा निकाय कतिसम्म असफल भएको छ भन्ने समाचार लेखिएको छ । मुख्य समाचारको बाँकी अंश प्रकाशित भएको पृष्ठ दुईमा ‘भाडाका मान्छे परिचालन’ भनेर बक्स समाचार दिइएको छ । यो समाचारमा भने विप्लवका नेता लुकेका र कार्यकर्ता पक्राउ परेको अवस्था भएकाले अहिले भाडाका मान्छेलाई बम पड्काउन पैसा दिएर लगाइएको समाचार छ । यो बक्स समाचारले भने शीर्षकको प्रश्नको उत्तर दिएको जस्तो देखिन्छ ।

नयाँ पत्रिकाले पनि सुरक्षामा चुनौती बढेपछि रणनीति परिवर्तन भएको समाचार प्रकाशित गरेको छ । सुरक्षा समन्वय तथा चेकजाँचमा थप कडाइ गर्ने निर्णय भएको पनि नयाँ पत्रिकाको समाचारमा जनाइएको छ । नयाँ पत्रिकाले पनि विस्फोटमा विप्लवमाथि आशंका गरिएको तर सरकार विप्लवमाथि लचिलो भएको समाचार प्रकाशित गरेको छ । सो समाचारको बिचमा विस्फोटको ऋंखलामा पनि प्रकाशित गरिएको छ ।

देउवाको प्रधानमन्त्रीय दौड

आइतबारको गोरखापत्र तथा कान्तिपुरले प्रधानमन्त्री शेर बहादुर देउवाले कञ्चनपुरमा तीनवटा चुनावी सभालाई गरेको सम्बोधनको समाचार बनाएका छन् । गोरखापत्रमा राजेन्द्र अवस्थीले कञ्चनपुरबाट संप्रेषण गरेको समाचारका अनुसार पश्चिम सेती र पञ्चेश्वर आयोजना निर्माण छिट्टै सुरु हुन्छ भनेर जनतालाई आश्वासन दिएका छन् । त्यस्तै नेपाली कांग्रेसले अहिलेसम्म गरेको राम्रो कामको फेहरिस्त पनि उनले दिएका छन् । त्यस्तै, कान्तिपुरमा चित्रांग थापा र भवानी भट्टले लेखेको समाचार अनुसार पूर्वका केपी ओली वा प्रचण्डले पश्चिमका लागि केही नगर्ने र जनताले जिताएर पठाएको खण्डमा आफूलेनै यो क्षेत्रका लागि काम गर्ने बताएका छन् । उनले आफ्नो दलले जितेको खण्डमा आफूनै प्रधानमन्त्री हुने कुरा पनि सो आमसभामा बताएका छन् ।

सम्पादकीय

आइतबारको नागरिकले निर्वाचनमा पैसाको प्रभावको सम्बन्धमा सम्पादकीय लेखेको छ । नागरिक लेख्दछ, ‘निर्वाचनका लागि उमेदवार, राजनीतिक दलदेखि सरकारसम्मले जुन हिसाबले पैसा विरतरण गरी निर्वाचन जित्ने विश्वास लिएका छन् त्यसले आममतदाताको अवमूल्यन भएको छ । र, जोसँग पैसा र शक्ति छ, त्यसैले निर्वाचन जित्ने किसिमको जे जस्तो किसिमको पद्धति स्थापित हुँदैछ, त्यो चिन्ताको विषय हो । र, यस्तो प्रवृत्ति बढ्दै जानु भनेको लोकतान्त्रिक मूलयमान्यताको पनि अवमूल्यन हुँदै जानु हो । यसप्रति सरोकारवाला सबै पक्षको ध्यान जान आवश्यक छ ।’

अन्नपूर्ण पोस्टले जातीय पहिचानको आधारमा मतदाताले मत नखसाल्ने विषयमा राजविराजबाट आएको समाचारको पक्षमा सम्पादकीय लेखेको छ । पोस्टले प्रकाशित गरेको समाचारमा मतदाताले मतदानको आधार जातीय नबनाउने धारणा व्यक्त गरेका थिए । पोस्ट भन्दछ, जातीय पहिचानमा गर्व गर्नु, जातीय आधारमा हुने विभेदका विरुद्धमा आवाज उठाउनु, जातीय आधारमा गोलबद्ध हुनुलाई नराम्रो भन्न सकिदैन । तर, समाज र राजनीतिका हरेक विषयलार्य जातीय चस्माले हेरेर र तद्नुरुप व्यवहार निर्देशित हुनु उचित होइन ।

गोरखापत्रले स्वास्थयको विषयमा सचेतना आवश्यक भएको विषयमा सम्पादकीय लेखेको छ । कान्तिपुरले धानको मूल्यको विषयमा सम्पादकीय लेखेको छ । धान बेच्ने समय सकिन लाग्दा किसानलाई उचित मूल्य नपाउने चिन्ताले यसपटक पनि सताइरहेको छ भन्दै कान्तिपुरले किसानलाई बिचौलिया तथा व्यापारीबाट बचाउनका लागि धानको मूल्य तोक्न सरकारसँग आव्हान गरेको छ ।  राजधानीले नेताले सपना बाँडेर चुनाव जित्ने कोशिस गरेकोमा असन्तोष व्यक्त गरेको छ भने नयाँ पत्रिकाले भने प्रविधिको प्रयोगबाट निर्वाचन प्रचारमा सुधार भएको भनेर सम्पादकीय लेखेको छ ।