काँग्रेसलाई भोट नदिएपछि जजमान परित्याग

११ पुष २०७४, मंगलवार ०५:२६

पुस ११, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई भोट नदिएपछि काठमाडौंमै पुरोहितले जजमान त्यागेका छन् ।

मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार गगन थापा र समानुपातिकतर्फ नेपाली काँग्रेसलाई भोट नदिएपछि कपनका चुडामणि कोइरालाले २ घर जजमान नै त्यागेका हुन् ।  बूढानिलकण्ठ नगरपालिका स्थित बालुवाखानीका शम्भू राउत र नरेश राउतले एमाले उम्मेद्वार राजन भट्टराई र समानुपातिकमा नेकपा एमालेलाई भोट दिएपछि कोइरालाले जजमान त्योको बताए । कांग्रेसलाई भोट नदिएकै कारण कोइरालाले तुलसीको पुजा र वार्षिक श्राद्धसमेत बहिस्कार गरेका छन् । कोइराला नगएपछि नरेश राउतले आफ्नी आमाको श्राद्ध र तुल्सी पूजा अरु नै पुरोहित बोलाएर गरेका छन् । गएको शुक्रबारको श्राद्धका लागि बोलाउँदा कोइरालाले अरु नै पुरोहित बोलाएर गराउन भनेका थिए ।

‘प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एकमा काँग्रेसलाई भोट हाल्न आग्रह गर्दा राउत परिवारले पहिला माओवादीलाई भोट हाल्यो । यसपटक प्रत्यक्ष र समानुपातिकमा एमालेलाई सहयोग गर्ने भनेपछि मैले जजमान छोडेको हो,’ कोइरालले भने, –“पुरोहित पेशा मन मिल्दा गर्ने हो, कसैसँग मन र विचार मिल्दैन भने उपयुक्त देखिनँ ।” कर्मकाण्ड र राजनीतिलाई एकै ठाउँमा नराख्न राउत परिवारले आग्रह गर्दा पनि कोइरालाले जान इन्कार गरेका थिए ।  समाजशास्त्रीहरु राजनीतिक आस्थाकै कारण देखिएको यस्तो बिग्रहले मुलुकको समृद्धि, विकास र शान्तिमा नै खलल पुग्ने बताउँछन् । फरक आस्था बोकेकै कारण मलामी नजाने, आपतविपतमा सहयोग नगर्ने, परम्परागत मूल्यमान्यतालाई बिर्सिने, विकास निर्माणमा एउटा दलको नेताले गरेको काममा अर्कोले सहयोग नगर्ने जस्ता विकृति राजनीतिक विभाजनले भएको उनीहरुको ेतर्क छ । त्यसका मूल कारण अशिक्षा र बेरोजगारी पनि बताउँछन् । –कारोबार दैनिक