अब लाम लागेर गाडी चढ्नुहोस्

३ पुष २०७४, सोमबार ०३:४२

पुस ३, काठमाडौं । तपाईं सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुनुहुन्छ भने अब दौडादौड गर्नु पर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ । सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त, महिला र सुत्केरीले सिट नपाएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाम बसेर सवारी चढ्ने व्यवस्था मिलाउन लागेको हो ।

महाशाखाले हिजोआइतबारदेखि काठमाडौँ उपत्यकाका १० स्थानमा लाम लागेर सवारी चढ्ने व्यवस्था मिलाएको हो । तिनमा एनएसी, रत्नपार्क, भृकुटीमण्डप, सामाखुशी, बानेश्वर, कोटेश्वर, कुपण्डोल, जडीबुटी र चाबहिल छन् । लाम बसेर सवारी चढ्दा जो पहिले आएको हो त्यसले पहिलो प्राथमिकता पाउनेछ । अघिल्लो सार्वजनिक यातायातमा चढ्न नपाएका यात्रु लगत्तै पछिल्लोमा जान पाउनेछन् ।

बूढानीलकण्ठ–एनएसी मार्गका माइक्रोबस चालक विवेक तामाङ लाम बस्ने व्यवस्थाले आफूहरुलाई मानिस उकाल्न तथा ओराल्न सहज हुने बताउछन् । “मानिस ओर्लन पाएको छैन यात्रुलाई चढ्न हतार हुँदा मानिस ठेलमठेल गर्न पुग्छन्, कोही त घाइते पनि हुन्छन्,”, उनले भने । यस्तै एनएसी– गोँगबु मार्गका माइक्रोबस चालक रुद्र खड्का लाम बसेर चढ्ने बानी बसाल्दा सवारी चालक तथा सहचालकलाई काम गर्न सहज हुने बताउँछन् । “मानिस एक मिनेट भए पनि चाँडो गन्तव्यस्थलमा जान खोज्दा सवारी भीड हुने गर्छ,”, उनले भने ।