अब पाँच वटा पार्टीले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने

२८ मंसिर २०७४, बिहीबार ०३:१२

मंसिर २८, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच वटा पार्टीले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने भएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्बन्धी न्यूनतम मतसीमा (थ्रेसहोल्ड) कटाएर नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ । समानुपातिकतर्फको मतको परिणामले प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेसलाई दोस्रो पार्टीको हैसियत दिलाउने संकेत देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ करिब ७० लाख मतगणना हुँदा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मात्र राष्ट्रिय पार्टी बन्ने देखिएको छ ।

 

०७० सालमा भएको संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसलाई यसपटक समानुपातिकतर्फ पनि एमालेले पछाडि पारेको छ । त्यतिबेला कुल १ करोड ५ लाख ८७ हजार ५२१ मत खसेको थियो । खसेको कुल सदरमतबाट ३ प्रतिशत मत नल्याउने दलले समानुपातिक सदस्य निर्वाचित गराउन पाउने छैन । प्रतिनिधिसभामा समानुपातिक तर्फ ११० सदस्य निर्वाचित हुनेछन् ।

हिमालय टाइम्सबाट