सैन्य नजरबन्दमा रहेका जिम्बाबेका राष्ट्रपतिलाई पद त्याग गर्न सुझाव

२ मंसिर २०७४, शनिबार ०२:१३

मंसिर २ काठमाडौं । जिम्बाबेको सत्तारुढ दल जानु पिएफले सैन्य नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेलाई पद त्याग गर्न दबाब दिएको छ ।

राजधानी हरारेमा सत्तारुढ दल जानु पिएफले ¥याली निकाल्दै सेनाले चालेको कदमको स्वागत गर्दै राष्ट्रपति मुगाबेलाई राजीनामा गर्न दबाब दिएको हो ।  सेनाले नजरबन्दमा राखेपछि विपक्षी दलले पनि राष्ट्रपति मुआबेलाई राजीनामा गर्न दबाब दिँदै आएको थियो । विपक्षीको माग बमोजिम सत्तारुढ दलले पनि राजीनामा माग गरेपछि राष्ट्रपति दबाबमा परेका छन् ।  उनले आफू संवैधानिक राष्ट्रपति भएकाले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् ।

 

यसैबीच सेनाले बुधबार सत्ता हातमा लिएपछि राष्ट्रपति मुआबे पहिलो पटक सार्वजनिक समारोहमा देखिएका छन् । उनी राजधानी हरारेमा आयोजित एक दीक्षान्त समारोहमा सहभागी भएका हुन् ।  ३७ वर्षसम्म सत्तामा एकलौटी शासन गरेका ९३ वर्षीय राष्ट्रपति मुगाबेले आफ्नो उत्तराधिकारीमा पत्नी ग्रेसलाई अगाडी सारेपछि भएको सत्ता संघर्षमा सेनाले सबै शक्ति नियन्त्रणमा लिएको छ ।  हाल सैनिक नियन्त्रणमा रहेका मुगाबेलाई सेनाले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आग्रह गरेको छ ।  तर मुगाबेले उक्त आग्रहलाई ठाडै अस्वीकार गरेका छन् । सेनाले राष्ट्रपतिसँग संवाद गरिरहेको र यस विषयमा भएका सबै कुरा चाँडै सार्वजनिक गर्ने जनाएको छ ।(एजेन्सी)