रौतहटको चन्द्रपुर नगरपालिकामा बम विस्फोट, ८ जना घाइते

२ मंसिर २०७४, शनिबार १०:२४

मंसिर २, रौतहट । 

मंसिर २ रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिरनजिक शनिबार गराइएको बम विस्फोटमा परी ८ जना घाइते भएका छन् ।

वाम गठबन्धनको ५ नम्बर वडा भेला सम्पन्न भएर खाजा खान हलबाट बाहिरिनेक्रममा बम विस्फोट गराइएको थियो । चन्द्रनिगाहपुरको धार्मिकस्थल राधाकृष्ण मन्दिरकै हलमा वाम गठबन्धनले भेला गरेका थिए ।  सो भेलाका सहभागी बाहिरिँदै गर्दा बरको बोटनजिक गराइएको विस्फोटमा परी ३१ वर्षीया सीता राई, ७ वर्षीय जैविक राई, ४५ वर्षीया लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले घाइते भएका छन् । घाइते सीता र जैविक राई आमा छोरा हुन् ।

 

बम विस्फोटमा परी घाइते भएका गोपाल बिक र यमुना काफ्लेको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भइरहेको छ । अरु घाइतेलाई उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । विस्फोट भएको बम कुन हो भन्ने सम्बन्धमा छानबिन भइरहेको जनाइएको छ । विस्फोटको जिम्मा कसैले पनि लिएको छैन ।