यी हुन् शीर्ष नेता तथा उम्मेदवार, जसले आफैलाई भोट दिन पाउदैनन्

१८ कार्तिक २०७४, शनिबार ०३:३८

कात्तिक १८, काठमाडौँ । आफ्नो क्षेत्र छाडेर अन्य क्षेत्रबाट आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गरेका केही शीर्ष नेताले आफैलाई भोट दिन नपाउने भएका छन् ।

दाङ छाडेर दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट उम्मेदवार भइ विजयी भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा अहिले फेरि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङबाट उम्मेदवार बनेका छन् ।

टिकटका लागि एमाले नेता शंकर पोख्रेलसँग टक्कर परेका उनलाई पाहुना नेताको ट्याग लाग्यो । अन्तत पोख्रेलसँगको टक्करमा टिकट बाजी मारेका उनै पाहुना नेता महरा दाङ निर्वाचन क्षेत्र नम्बर २ लाई आफ्नो चुनावी क्षेत्र बनाउन सफल भए । तर उनले आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । उनी दाङका नभइ रोल्पाका मतदाता हुन् ।

१७४३२६२५ मतदाता नम्बर भएका महरा रोल्पा नगरपालिका १ का मतदाता हुन् । महरालाई रोकेर दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने योजनामा थिए एमाले नेता शंकर पोख्रेल । महरालाई पाहुना नेता भनेर विरोध गरेका उनी आफैं पाहुना उम्मेदवार बन्न पुगेका आजको नागरिक दैनिकमा खबर छ ।

आफ्नो क्षेत्रबाट प्रतिनिधिसभामा टिकट पाएपछि पोख्रेल प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न अर्को क्षेत्रमा गए । त्यसैकारण उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । एमाले नेता पोख्रेलसँग कांग्रेसबाट पनि पाहुना उम्मेदवार नै भिड्दैछन् ।

पोख्रेलका प्रत्यासी कमलकिशोर घिमिरेले पनि पोख्रेलले जस्तै आफूलाई मतदान गर्न पाउने छैनन् । दाङमा मात्र होइन रोल्पामा पनि यस्ता उम्मेदवार छन् जसले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । तीमध्येका एक हुने माओवादीका कुलप्रसाद केसी ।

रोल्पा नगरपालिका ६ खोलाबाङका मतदाता उनी प्रदेश क बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । रोल्पाकै झक्कु सुवेदी पनि आफैलाई भोट हाल्न नपाउने उम्मेदवारमा परेका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।