भारतीय सुन्दरी मानुषीलाई मिस वल्र्डको ताज

३ मंसिर २०७४, आईतवार ०२:०६

मंसिर ३, काठमाडौं । भारतीय सुन्दरी मानुषी छिल्लरले मिस वल्र्ड २०१७ को चम्किलो ताज चुमेकी छिन् । विश्वका विभिन्न देशका १ सय १७ सुन्दरीलाई पछाडी पार्दै मानुषी यस वर्षको विश्व सुन्दरी घोषित भएकी हुन् । प्रतियोगीताको अन्तिम चरणमा निर्णयक प्रश्नको सबैभन्दा गहकिलो र सशक्त जवाफ दिई निर्णयकहरुको मन जित्दै उनी ताज चुम्न सफल भइन् ।

यससँगै भारतले १७ वर्षपछि फेरि विश्व सुन्दरीमाथि विजय पाएको छ । यसअघि बलिउड सुन्दरीद्वय ऐश्वर्या राय र प्रियंका चोपडा विश्व सुन्दरी भएका थिए । चीनमा भव्यसाथ सम्पन्न मिस वल्र्ड २०१७ मा आफ्नो नाम उद्घोष भएपछि मानुषीले हर्षको आँशु झारेकी थिईन् । मेडिकल विधामा अध्ययन गरिरहेकी मानुषी १९९७ मे १४ तारिखमा हरियणामा जन्मेकी थिईन् । उनले भारत सुन्दरी हुदै विश्व सुन्दरी प्रतियोगितामा प्रतिनिधित्व गरेकी थिईन ।

६७ औं संस्करणको मिस वल्ड २०१७ मा नेपाल सुन्दरी २०१७ निकिता चन्दक भने उत्कृष्ट ४० मा सिमित भइन् । उनी पपुलर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन् ।
टेलिभिजन प्रत्यक्ष प्रसारणमार्फत विश्वभरका सुन्दरी प्रतियोगीताप्रेमीले अवलोकन गरेको प्रतियोगितामा मेक्सिको सुन्दरी एन्ड्रेया मेजाले फस्ट रनर्सअप बेलायती सुन्दरी स्टफेनिया हिल सेकेन्ठ रनर्सअप भए ।