बम विष्फोटमा परि काँग्रेस उम्मेदवार कार्की गम्भीर घाईते,भरतपुर चिहानडाँडामा पनि बम

१३ मंसिर २०७४, बुधबार ०९:४७

मंसिर १३, उदयपुर ।

निर्वाचन प्रचारप्रसारको रुपमा हिडीरहेका काँग्रेस उम्मेदवार नाराणयण कार्की बम विष्फोटमा परि गम्भीर घाईते भएका छन् ।

उदयपुरको उदयपुरगढी नगरपालिका ६ स्थित दनुराबेसीमा भएको उक्त विस्फोटमा उदयपुर क्षेत्र नंम्वर २ का कांग्रेस उम्मेदवार कार्कीसंगै गाडी चालक राजन कार्की,धनमाया धौलाकोटी र निरा कटुवाल घाईते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

घाइते कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ । कार्कीलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । कार्की सवार गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराएको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चिहानडाँडामा बम भेटिएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल घरदैलो गरिरहेकै बेला   चिहानडाँडामा प्रेसरकुकर बम भेटिएको हो । दाहाल वुधबार बिहान २४ नम्बर बडाको दीपचोक, ध्रुवबजारलगायतका स्थानमा घरदैलो कार्यक्रम गरिरहेका थिए । यसरी घरदैलो चलिरहेको बेला करिब १ किलोमिटर दूरीमा रहेको चिहानडाँडामा बम फेला परेको हो ।प्रेसर कुकर बम भेटिएको जानकारी पाएपछि सेनाको बम डिस्पोजल टोलीले  डिस्पोज पारेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए ।