निर्वाचनका लागि नेपाल–भारत सीमा क्षेत्रमा विशेष निगरानी

१९ कार्तिक २०७४, आईतवार १२:३४

कात्तिक १९, कपिलवस्तु । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासनले सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधिप्रति उच्च सतर्कता अपनाएको छ ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकाइलाई आफ्ना मातहतका क्षेत्रमा उच्च निगरानी बढाउन स्थानीय प्रशासनले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

यसैक्रममा प्रमुख जिल्ला अधिकारी भुजेलको नेतृत्वको सुरक्षा समितिको एक टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको छ । अनुगमनका क्रममा सुरक्षा समितिको सो टोलीले नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बजांहा बाँधको शनिबार अवलोकन गरेको छ ।

अवलोकनका क्रममा भारतीय पक्षबाट निर्माण गरिएको सो बाँधबाट नेपाली क्षेत्रका कृषकको धान खेती डुबेकोे, सीमा स्तम्भसमेत डुबानमा परेको, वर्षायामका समयमा नेपाली भू–भागका सर्वसाधारणले डुबान समस्या भोग्नुपरेको अवस्था पाइएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए ।

‘चाँडै नै प्रतिनिधिसभा र प्रदेशसभालाई लक्ष्य गरी हुन लागेको नेपाल–भारत दुई देशका सीमावर्ती जिल्लाका प्रमुख एवं सुरक्षा अधिकारीको बैठकमा यो विषयको उठान गर्छौं,’ प्रमुख जिल्ला अधिकारी भुजेलले भने, ‘बैठकमा विशेषगरी निर्वाचनका बेला सीमा क्षेत्रको आवागमन, सुरक्षा व्यवस्था, अपराध नियन्त्रणलगायतका विषयमा छलफल गरिने भए पनि सीमा क्षेत्रको डुबान समस्या र यसको समाधानका उपायबारेमा भारतीय समकक्षीसँग छलफल गर्छौं ।’ रासस